नेपाली कांग्रेस म्याग्दीको प्रदेशसभा निर्वाचन क्षेत्र ‘क’ मा सर्वसम्मत नेतृत्व चयन

विकल्प न्यूज\बेनी
कात्तिक २७ गते । नेपाली कांग्रेस म्याग्दीको प्रदेशसभा निर्वाचन क्षेत्र ‘क’ मा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरिएको छ । शनिबार बेनीमा सम्पन्न प्रथम अधिवेशनले युवा नेता ओमबहादुर छन्त्यालको सभापतित्वमा नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो । यसैगरी उपसभापतिमा रघुगंगगा गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारी र युवा नेता सुजन बरुवाल निर्वाचित हुनुभएको छ ।

सचिवमा चक्रबहादुर केसी र रोशन पुरी उपसचिव पदमा विशाल खत्री र गणेश गर्बुजा निर्वाचित हुनुभएको निर्वाचन अधिकृत रामजीप्रसाद सुवेदीले जानकारी दिनुभयो । सभापति र सचिव पदमा यसअघिनै सर्वसम्मत गरिएको थियो । अधिवेशनबाट १७ जना प्रदेश अधिवेशन प्रतिनिधिहरु पनि चयन भएका छन् ।

खुल्ला महिला तर्फ अमृतदेवी बानियाँ,धनमाया विक,सृजना भट्चन, खुल्ला पुरुष तर्फ मोहन महत,तारानाथ रेग्मी,गोपाल बानियाँ,धर्मराज सुवेदी, चन्द्र शेरपुजा मगर,गोविन्द पुन मगर खस आर्यबाट डिलबहादुर बरुवाल,सवनम मल्ल, आदीवासी जनजाती तर्फबाट अनोद श्रेष्ठ,इयाम पुर्जा आदीवासी जनजाती महिलामा निर्मला श्रेष्ठ,दलित खुल्लामा पशुपति विक र अल्पसंख्यक तर्फबाट टिका गौचन निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन अधिकृत सुवेदीले जानकारी दिनुभयो ।

निर्वाचित पदाधिकारी र सदस्यहरुको घोषणा कार्यक्रममा पार्टी सभापति खमबहादुर गर्बुजाले निर्वाचित कार्यसमितिलाई बधाई दिदै क्षेत्र क मा नेपाली काँग्रेसलाई बलियो बनाउँदै आगमी तिनै तहका निर्वाचनमा पार्टीलाई जिताउन अनुरोध गर्नुभयो । कार्यक्रममा निवर्तमान सभापति माधवप्रसाद रेग्मी,जिल्ला सहसचिव भरत रकाल र निर्वाचन अधिकृत सुवेदीले बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो ।