काँग्रेसको प्रदेशसभा अधिवेशन ः प्रदेश क को सभापतिमा छन्त्याल निर्विरोध निर्वाचित

विकल्प न्यूज/बेनी
कात्तिक २७ गते ।

 नेपाली काँग्रेसको प्रदेशसभा निर्वाचन क्षेत्रीय समिति (क) को सभापतिमा ओमबहादुर छन्त्याल निर्विरोध निर्वाचित हुनुभएको छ ।

सदरमुकाम बेनीमा सुरु भएको प्रदेश सभा निर्वाचन क्षेत्रीय अधिवेशनबाट छन्त्याल सभापति पदमा निर्विरोध निर्वाचित हुनुभएको हो । नेताहरुले सभापति र सचिव पदमा सहमति कायम गरेका हुन । निर्वाचिन अधिकृत रामजीप्रसाद सुवेदीले दिएको जानकारी अनुसार सचिव पदमा चक्रबहादुर केसी र रोशन पुन निर्विरोध चयन हुनुभएको छ ।

यसैगरी उपसभापतिका दुई पदका लागि सुजन बरुवाल,भबहादुर भण्डारी,हेमबहादुर खत्री र क्या. रविन्द्र गर्बुजा पुनको उम्मेदवारी परेको छ ।

सहसचिवका दुई पदका लागि विशाल खत्री,ध्रुवराज सुवेदी,तेजप्रकाश बानियाँ क्षेत्री र गणेश गर्बुजाको उम्मेदवारी परेको छ । १७ जना प्रदेश अधिवेशन प्रतिनिधिमा ३४ जनाले उम्मेद्वारी दर्ता गराएका छन् । अधिवेशनको उद्घाटन सत्र अहिले मंकाखलको सभाहलमा चलिरहेको छ ।

उपसभापति,सहसचिव र प्रदेश अधिवेशन प्रतिनिधि चयनका लागि सहमतिको प्रयास भइरहेको नेताहरुले जनाएका छन् । पाँचबजे सम्म सहमति नभए मतदानबाट टुंगो लगाउने तयारी गरिएको छ । यसैगरी प्रदेश ख को अधिवेशन मालिका गाउँपालिकाको केन्द्र दरबाङमा सुरु भएको छ ।