एमाले बेनी नगर कमिटीको अध्यक्षमा जिसी निर्वाचित

विकल्प न्युज/ बेनी

विकल्प न्युज/ बेनी

कार्तिक १० गते । नेेकपा एमाले बेनी नगर कमिटीकाे प्रथम अधिवेशनबाट युवा नेता नारायण जिसी अध्यक्षमा सर्वसम्मत रूपमा निर्वाचित हुनुभएको छ । मंगलबार सुरू भएको अधिवेशनमा अध्यक्ष पदमा जिसी,राजकुमार थापा र चन्द्रकुमार केसीले दावी गर्नु भएको थियाे ।

बुधबार जिसीकाे पक्षमा सहमति जुटेकाे हाे । जिसीकाे नेतृत्वमा ७५ सदस्यीय नगर कमिटी चयन गरेकाे हाे ।

मंगलबार देखि सुरु भएको अधिवेशनमा अध्यक्ष लगाएतका पदमा आंकाक्षीहरु धेरै देखिएकाले अधिवेशनको बन्द सत्र बुधबार सम्म लम्विएको थियो ।

अध्यक्षका आकांक्षी राजकुमार थापाले दाबी फिर्ता लिएपछि जिसी र चन्द्र कुमार केसी बिच सहमति गराउनका लागि पार्टी नेतृत्वले बुधबार दिनभर कसरत गरेका थिए ।

चुनावी प्रक्रियामा नजाने भन्दै एमाले म्याग्दीको सचिवालय कमिटिले नगर कमिटि चयन गर्ने जिम्मेवारी लिएको थियो । सचिवालयको विशेष वैठकपछि सबैलाई मान्यहुने गरि नगर कमिटि चयन गरिएको एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले बताउनुभयो । अध्यक्षका प्रत्यासी केसीलाई पार्टीमा उचित जिम्मेवारी दिइने उहाँले बताउनुभयो ।

केसीले भने सहमतिको पक्षमा आफु लचिलो बनेकाले नै नगरको टुङ्गो लागेको बताउनुभयो ।

अध्यक्षमा चयन हुनुभएकोमा नारायण जि लाई हार्दिक बधाई छ, मेरो यसमा कुनै गुनासो छैन, पार्टीले गरेको निर्णयलाई म सहज स्वीकार गर्छु केसीले भन्नुभयो, “आगामी दिनमा अझै पार्टीमा शसक्त भएर लाग्ने छु ”।

सहमतिबाटै नेतृत्व चयन भएकोमा एमालेका नेता तथा कार्यकर्ताहरु भने खुसी भएका छन । सवैजसो प्रतिनिधिहरु निर्वाचनको विपक्षमा रहेका थिए ।