एमाले बेनी नगर कमिटीको अध्यक्षमा जि.सी र के.सीको दावी यथावत

विकल्प न्यूज/बेनी
कार्तिक १० गते ।

नेकपा एमाले बेनी नगरपालिका कमिटीको अध्यक्ष पदमा दुईजनाको उम्मेदवारी परेको छ । नेतृत्व चयनका लागि मंगल सुरु भएको प्रथम नगर अधिवेशनमा अध्यक्ष पदमा युवा नेता नारायण जि.सी,राजकुमार थापा र चन्द्रकुमार केसीले दावी प्रस्तुत गर्नुभएको थियो ।

बुधवार दिनभर नेताहरुले मिलाउने प्रयास गरेपनि साँझसम्म सहमति हुनसकेको छैन । दुवैजनाले अडान लिएपछि नेतृत्वलाई सकस परेको छ । अध्यक्ष पदका आकांक्षी थापाले दावी फिर्ता लिएर जि.सीलाई समर्थन गर्नुभएको छ । आगमी स्थानीय तहको निर्वाचन पनि नजिक भएकाले नेतृत्व लिन कसरत गरेका छन् ।

सहमतिबाटै नेतृत्व चयन गर्न जिल्लाका नेताहरुले कसरत गरिरहनुभएको छ । तर दुवै जना पछि हट्न नमानेका कारण सहमति गर्न कठिन भएको छ । नेतृत्व चयन गर्न कुनैपनि हालतमा निर्वाचनमा नजाने मनस्थिति नेताहरु पुगेका छन् भने आकांक्षीहरु मतदानमा जान तयार देखिएका छन् ।

जिल्ला कमिटीको सचिवालयलाई सहमतिबाट नेतृत्व चयन गर्ने अधिकार दिइएको उपाध्यक्ष देवेन्द्र बहादुर केसीले बताउनुभयो । ‘निर्वाचन कुनैपनि हालत गर्ने होइन, सहमतिबाट नै नेतृत्व चयन गर्ने हो । दुबै जना पार्टीका लागि आवश्यक व्यक्तिहरु हुनुहुन्छ । एकजनालाई पार्टीले अन्य कुनै स्थानमा व्यवस्थापन गर्ने गरी सहमतिबाट नेतृत्व चयन गर्ने पार्टीको योजना छ ’ उहाँले भन्नुभयो । कुनैपनि हालतमा पनि सहमति जुटन् नसके निर्वाचनबाट भएपनि टुंगो  लगाउन सकिने एक सचिवालय सदस्यले बताउनुभयो ।

जि.सी नगर कमिटी पूर्व अध्यक्ष र केसी जिल्ला कमिटिको लेखासमितिको संयोजक हुनुहुन्छ । युवाहरुलाई परिचालन गर्न र नेतृत्व गर्न सिपालु जिसी निर्माण व्यवसायी संघ म्याग्दीका अध्यक्ष समेत हुनुहुन्छ ।

अध्यक्ष पदमा दावी गर्नुभएका युवा नेता थापाले जि.सीलाई समर्थन गर्दा उहाँ बलियो देखिनुभएको छ ।अध्यक्ष वाहेक उपाध्यक्ष,सचिव र दुई उपसचिव पदमा भने सहमति भएको उपाध्यक्ष केसीले जानकारी दिनुभयो ।