बेनीका मासु पसल सुधार गर्न निर्देशन

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी १९ चैत ।
बेनीमा सञ्चालित सप्ताहब्यापी स्वच्छ तथा स्वस्थ्य मासू अभियानको शुक्रबार समापन गरिएको छ ।

जिल्ला पशु सेवा कार्यालयले स्वस्च्छ र स्वस्थ्य मासुको उपभोग गर्ने वातावरण बनाउन सचेतना अभिवृद्धी गर्ने उद्देश्यले चैत १४ गतेदेखि अभियान सञ्चालन गरेको थियो । अभियानका क्रममा स्वस्थ्य मासुको उपभोगका लागि मासु ब्यवसायी, कृषक, उपभोक्ताहरुसंग अन्तरक्रिया, बेनीका मासु पसलको अनुगमन र अभिमुखीकरण कार्यक्रम गरिएको कार्यालयले जनाएको छ ।DSC02175

अभियानको क्रममा बेनीमा गरिएको मासु पसलहरुको अवस्था सम्बन्धि प्रतिवेदन पनि सार्वजनिक गरिएको थियो । प्रतिवेदन प्रस्तुत गर्दै बरिष्ठ पशु चिकित्सक दयाराम चापागाईले बेनीका मासु पसलहरुको सरसफाईको अवस्था सुधार गर्न जरुरी रहेको बताउनुभयो ।
केही मासु पसलले न्युनतम मापदण्ड पनि पुरा नगरेको र खुल्ला रुपमा मासु बिक्री गरेको पाइएपछि सुधार गर्न निर्देशन दिएको उहाँले बताउनुभयो । सफा ठाउँमा पशुपंक्षी बध गर्न, मासु बिक्री गर्ने स्थललाई पूर्ण रुपमा सिसा र जालीले छोप्न निर्देशन दिनुभयो ।

अस्वस्थ्य र दुषित मासुका कारण मानिसमा रोगको संक्रमण फैलने जोखिम हुन्छ । उक्त कार्यक्रममा म्याग्दीका प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यले मासु पसलको सरसफाई र आधारभुत मापदण्ड पुरा हुनुपर्ने बताउँदै त्यसो नभएको पाईए अब कारबाही गर्ने चेतावनी दिनुभयो ।

पशु चिकित्सक जिवन आचार्यको सञ्चालन र पशु विकास अधिकृत नरबहादुर बानियाको स्वागतमा सम्पन्न कार्यक्रममा सरोकारवाला कार्यालय र मासु ब्यवसायीहरुको उपस्थिती रहेको थियो ।