एमाले बेनी नगर कमिटीको नेतृत्वमा तीन जनाको दावी

विकल्प न्युज/बेनी

कार्तिक ९ गते । 

नेकपा एमाले म्याग्दी बेनी नगर अधिवेशनमा नेतृत्वको लागी तीन जनाले दावि पेश गर्नुभएको छ ।

मंगलवार आयोजित नगर अधिवेशनमा सहमती जुट्न नसकेपछि बुधबार बिहान १० बजे देखि सुरु हुने गरि स्थगित भएको छ ।

अधिवेशनको बन्द सत्रमा नेतृत्व चयनमा आंकाक्षीहरु धेरै देखिएको र तिनिहरुविच सहमतिको प्रयास भइरहेकाले अधिवेशन स्थगित गरिएको एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले जानकारी दिनुभएको छ ।

बेनीनगर कमिटिको अध्यक्षका लागि नारायण जिसी, चन्द्र कुमार केसी र राजकुमार थापाले दावी गर्नु भएको छ ।

त्यस्तै उपाध्यक्षका लागि राजेन्द्र कुमार श्रेष्ठ र लिलाराम गौतम, सचिवका लागि कृष्णसिं बानीयाँ र सुवास विश्वकर्माले दावी गर्नुभएको छ ।

२ जना चयन हुने उपसचिव पदका लागि लक्षमण कटुवाल, बिमल रिजाल, शिशिर शाही, नबिन केसी, नारायण शर्मा, रुद्र रेग्मी लगाएत ९ जना आंकाक्षी देखिएको अध्यक्ष मण्डलका संयोजक देब बहादुर घलेले जानकारी दिनुभयो ।

आकांक्षीहरु विच सहमतिका लागि छलफल भइरहेकाले मनोनयन दर्ता भने नगरिएको उहाँले बताउनुभयो । नगरकमिटिको कतिपय पदहरुमा भने सहमति भइसकेको छ ।

अन्तिम सम्म सहमतिको प्रयास गरिने र सहमति हुन नसके लोकतान्त्रिक पद्धति अनुसार नेतृत्व चयन गरिने अध्यक्ष श्रेष्ठले बताउनुभयो ।