बाबियाचौर क्याम्पसको जग्गा खरिदमा प्रक्रियामा बिवाद

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी १७ चैत ।
म्याग्दीको बाबियाचौर ५ मा रहेको मंगला शिक्षा क्याम्पसको जग्गा खरिद प्रक्रियामा बिवाद उत्पन्न भएको छ ।

क्याम्पसको भौतिक पुर्वाधार निर्माणका लागि आर्थिक संकलनमा एकजुट बनेका बाबियाचौर र आसपासका बासिन्दाहरु अहिले क्याम्पसलाई बजारबाट सार्न हुने र नहुने पक्षमा बिभाजन भएका हुन् ।
२०६६ सालदेखि शिक्षा संकायको पठनपाठन सञ्चालन हुदै आएको क्याम्पसको आफ्नै जग्गा नहुँदा भवन लगायतका पुर्वाधार निर्माण अघि बढ्न नसक्नुका साथै त्रिभुवन विश्व विद्यालयले प्रदान गर्ने सुबिधाबाट बञ्चित भएको छ ।

क्याम्पसको नाममा जग्गा खरिद गर्न वि.स २०७१ मंसिरदेखि चन्दा संकलन अभियान सञ्चालन गरिएको थियो । अभियानबाट करिब ८५ लाख रुपैया चन्दा घोषणा हुनुका साथै ५० लाखको हाराहारीमा नगद जम्मा भएको छ । गत कात्तिकमा जग्गा खरिद प्रक्रिया सुरु भएपछि भने विवादले चर्को रुप लिएको हो ।

एउटा पक्षले हाल क्याम्पसको पठनपाठन भैरहेको मंगला उच्च मावि परिसरमा अथवा बजारभित्र अन्य कुनै ठाउँमा जग्गा खरिद गर्नुपर्ने अडान राख्दै आएको छ । अर्को पक्षले भने बजारभित्र क्याम्पसका लागि आवश्यक जग्गा प्राप्ती हुन नसकेपछि नजिकैको लाम्पाटामा सस्तो मूल्यमा पर्याप्त र सुुरक्षित जग्गा प्राप्त भएको भन्दै खरिद गर्ने तयारीमा लागेका छन् ।DSC08069

दुवै पक्षको अडानका कारण सहमती जुट्न नसकेपछि पाँच महिनाअघि सुरु भएको जग्गा खरिद प्रक्रिया टुङ्गीन सकेको छैन् । जग्गा व्यवस्थापन उपसमितिका संयोजक नरसिंहबहादुर केसीले बजारभित्रै क्याम्पस स्थापना गर्ने चाहना भएपनि उपयुक्त र पर्याप्त जग्गा नपाएको बताउनुभयो ।

लाम्पाटामा प्रस्तावीत जग्गा प्राबिधिक हिसावले उपयुक्त, क्याम्पसको पुर्वाधार निर्माणका लागि पर्याप्त र भौगोलिक हिसावले सुरक्षित भएकाले खरिद गर्ने निर्णय भएको केसीले बताउनुभयो । उहाँका अनुसार जिल्ला स्थित सम्बन्धित सरकारी कार्यालयको प्राबिधिक टोलीले गरेको सिफारीसको आधारमा ५६ लाख २५ हजार रुपैयामा लाम्पाटामा ३३ रोपनी जग्गा खरिद गर्ने अन्तिम तयारी भएको छ ।

अर्को पक्ष भने बाबियाचौर बजारबाट कुनैपनि हालतमा क्याम्पस सार्न नहुने पक्षमा दवाव सिर्जना गर्न आन्दोलनमा उक्रिएका छन् । आर्थिक संकलन अभियानका सदस्य रहेका नारायण अधिकारीले नेतृत्व गरेको उक्त पक्षले बाबियाचौर बजारबाट क्याम्पस सार्न नहुने माग गर्दै दिउँसो लालटिन जुलुस निकाल्ने देखि जिल्ला स्थीत पार्टी र सरकारी कार्यालयहरुमा ज्ञापनपत्र बुझाएर दवाव दिएका छन् ।

बजारमै जग्गाको विकल्प भएको र बजार बाहिर क्याम्पस चल्न नसक्ने हुनाले सार्न नहुने अधिकारीको तर्क छ । हाल क्याम्पस सञ्चालन भएको ठाउँ नजिकै प्रस्तावीत जग्गा आठ रोपनी मात्रै रहेको र नदी कटानको उच्च जोखिम भएकाकाले उक्त जग्गा खरिद गर्न नसकीने केसीले बताउनुभयो ।