बरंजाको धापुङमा आलु विउ भण्डारण भवन निर्माण

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी १७ चैत ।
म्याग्दीको बरंजा गाविस ९ धापुङमा आलुको विउ भण्डारण गर्ने भवन निर्माण भएको छ ।

जिल्ला कृषि विकास कार्यालयको आर्थिक तथा प्राबिधिक सहयोगमा लालीगुराँस बिशेष कृषि समूहमा आवद्ध कृषकहरुले भवन निर्माण गरेका हुन् । दश मेट्रिक्टन क्षमत्ताको उक्त भवन पाँच लाख तिन हजार ८८४ रुपैयाको लागतमा निर्माण भएको जिल्ला कृषि विकास कार्यालयका प्राबिधिक सहायक श्यामराज क्षेत्रीले जानकारी दिनुभयो ।Rastik Store 2

उहाँका अनुसार भवन निर्माणमा कार्यालयको दुई लाख ६१ ह्जार २५० र कृषकहरुको दुई लाख ४२ हजार ६३४ रुपैया लगानी भएको छ । एक सय घरधुरी कृषकहरुले सात दिनका दरले श्रमदान गरेर भवन निर्माण गरेको लालीगुराँस बिशेष कृषि समूह धापुङका अध्यक्ष दलबहादुर पुनले बताउनुभयो ।

माघको २२ गते सुरु भएको भवन निर्माण कार्य लक्ष्य अघिनै फागुन २६ गते सम्पन्न भएको अध्यक्ष पुनले बताउनुभयो । उक्त भवनमा आगामी वर्ष आलु राख्ने ¥याक जडान गर्ने र प्रयोगमा ल्याउने योजना रहेको छ ।

सुरक्षित रुपमा आलुको विउ भण्डारण गर्न नसकेका धापुङका कृषकहरु बिउ आलु खोज्न बागलुङको ताराखोला, हिल र अर्गल पुग्नुपर्ने समस्या थियो । गाउँमै भण्डारण गर्न सकिने भएपछि आलुको विउ खोज्न डाँडापारी जानुपर्ने बाध्यताको अन्त्य हुने धापुङका बासिन्दाको अपेक्षा छ । मध्य पहाडी हावापानी पाईने धापाङमा हिउँदे र बर्खे दुवै सिजनमा आलु खेती हुने गरेको छ ।