तातोपानी साना जलविद्युत आयोजना बन्द

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी १६ चैत ।
म्याग्दीको नारच्याङको घरापमा रहेको तातोपानी साना जलविद्युत आयोजनामा चार दिनदेखि विद्युत उत्पादन बन्द भएको छ ।

दुई मेघावाट क्षमत्ताको आयोजनाको बाँध लेदोले पुरिएको र सुरुङभित्र लेदो थुप्रिएकाले विद्युत उत्पादन बन्द भएको हो । नारच्याङको भित्रीबनमा एक महिनाअघि गएको पहिरोले घलेम्दीखोला थुनिएर बनेको तलाउ खुलेर शुक्रबार साँझ आएको लेदो सहितको बाढीले आयोजनाको बाँध र सुरुङ पुरीएको छ ।

काठ, गेगर र बालुवा सहितको बाक्लो लेदोले बाँध पुरीएको र सुरुङभित्र पनि पसेकाले विद्युत उत्पादन ठप्प भएको आयोजनाका कर्मचारी खिमबहादुर पुनले जानकारी दिनुभयो । आयोजनाका प्रमुख सहितको टोली मंगलबार बाँध क्षेत्रको निरीक्षणमा गएको छ । बाँध र सुरुङमा थुप्रिएको लेदो नहटाउँदा सम्म विद्युत उत्पादन बन्द हुने पुनले बताउनुभयो ।
वि.स २०४६ मा निर्माण भएको म्याग्दीको एकमात्र उक्त विद्युतगृहका टवाईन, जेनेरेटर लगायतका उपकरण मर्मत हुन नसक्दा हाल आठ सय किलोवाट विद्युत उत्पादन हुने गरेको थियो । उक्त आयोजना बन्द भएपछि उत्तरी म्याग्दीको नारच्याङ, दाना, भुरुङतातोपानीका साथै तल्लो मुस्ताङमा विद्युत आपूर्ती भएको छैन् ।

यसअघि लोडसेडीङ नहुने मुस्ताङ र उत्तरी म्याग्दीका बासिन्दाहरु आयोजना बन्द भएपछि विद्युतभार कतौटीको मारमा परेका छन् ।