केन्द्र र जिल्लाका नेताले गाउँका कार्यकर्ताबाट पाठ सिक्नेकी ?

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी १६ चैत ।
जनप्रतिनिधि बिहीन स्थानीय निकायमा राजनितिक स्वार्थ र बिवाद तथा कर्मचारीको लापरबाहीले विकास निर्माण एवं सार्वजनीक सेवा प्रवाहमा कठिनाई भैरहेको अवस्थामा म्याग्दीको ग्रामिण क्षेत्रका नेताहरु भने एकतावद्ध हुन थालेका छन् ।

देशका ठूला दल तथा तिनका नेताहरुको स्वार्थका कारण स्थानीय निकायको चुनाव हुन नसकेपनि म्याग्दीका केही गाविसमा क्रियाशिल दलका नेताहरुको एकता र समन्वयका कारण विकास निर्माण एवं सार्वजनीक सेवा प्रवाहमा सहजता आएको छ ।

गाउँका सर्वसाधारण, अगुवा र नेताहरु मिलेर राजनितिक संयन्त्र, गाउँ तथा वडा समिति गठन गरेर बर्षौ देखिको जनप्रतीनिधीको रिक्ततालाई पुर्ती गर्ने प्रयास गरेका हुन् । मगर समुदायको बाहुल्य बसोबास रहेको भुरुङ तातोपानी, हिस्तान, चिमखोला, दग्नाम, दोवा, देविस्थान र छन्त्याल बस्ती गुर्जामा राजनितिक संयन्त्र र गाउँ समिति क्रियाशिल छन् ।

उनिहरुले सरकारी, गैरसरकारी संघ सस्थाले गाउँमा सञ्चालन गर्ने विकास योजना तथा कार्यक्रम लागू गर्न सहजिकरण, गाउँको विकास निर्माणमा जनसहभागिता जुटाउने , सामाजिक सद्भाव र एकता कायम गर्न सकारात्मक भुमिका खेलेका छन् । भुरुङ तातोपानीमा हालै गठन भएको गाविस स्तरीय राजनितिक संयन्त्रमा एमाओवादीको तर्फबाट सदस्य बनेका बुद्धी पुनले जनप्रतिनिधि नहुँदा विकासका काम र सार्वजनीक सेवा प्रवाह प्रभावित बनेपछि सहजिकरण गर्न संयन्त्र बनाएको बताउनुभयो ।bikalpa_logo

जिम्मेवार निकायको अभावसंगै पद, स्वार्थ, बिवाद तथा असमझदारी हुँदा गाउँको विकासमा दिर्घकालीन असर पर्ने महशुस गरेर ठूलो दल भएको नाताले नेपाली काँग्रेसका अनिल हिराचनको नेतृत्वमा तिन वटा दलका दुईदुई जना सदस्य रहनेगरि संयन्त्र बनाएको पुनले जानकारी दिनुभयो ।

सरकारले वि.स २०६९ मा देशभरका राजनितिक संयन्त्र बिघटन गरेपनि त्यसको विकल्प स्थापित हुन नसकेपछि म्याग्दीको बिकट गुर्जा र देविस्थानका बासिन्दाहरुले आमभेला गरी क्रियाशिल राजनितिक दल, संघ संस्था र अगुवाहरुलाई समेटेर गाउँ समिति गठन गरेका छन् ।

चिमखोला, दग्नाम, दोवा गाविसमा पनि स्थानीय रितीथिती समितिले पनि विकास, सामाजिक कामको साथै गाउँको नितिनियम बनाउने, कृषि उपजको मूल्य र ज्याला निर्धारण गर्ने काममा नेतृत्व गर्दै आएका छन् । गाउँमा बिवाद र कसैमाथी अन्याय भएमा छलफल गराई मिलाउने काम पनि ति समीतीहरुले गर्दै आएका छन् ।

सरकारले बैधानीकता नदिएपनि गाउलेले बनाएका संयन्त्रका कारण आफूहरुलाई पनि काम गर्न सजिलो भएको कर्मचारीहरुको भनाई छ । विकास योजना तथा कार्यक्रममा जनसहभागिता जुटाउन र सार्वजनिक सेवा प्रवाहलाई सहज बनाउन यस्ता समितिहरुले महत्वपूर्ण सहयोग गरेको चिमखोला गाविसका सचिव जितबहादुर सुनारले बताउनुभयो ।

राजनितिक संयन्त्र तथा गाउँ समितिहरुको मासिक रुपमा बैठक बस्छ । यसैगरी वार्षिक रुपमा आम भेला गरेर समितिको नेतृत्व परिवर्तन गर्ने अथवा पुरानै समितिलाई सर्वसहमती भएको अवस्थामा निरन्तरता दिने गरिएको छ ।