दरवाङमा ढल निकास र एक घर एक धारा सहितको खानेपानी आयोजना बन्दै

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी १५ चैत ।
पश्चिम म्याग्दीको ब्यापारीक केन्द्र दरवाङ बजारमा ढल निकास र एक घर एक धारा सहितको खानेपानी आयोजना निर्माण हुने भएको छ ।

तिब्र रुपमा बस्ती विकास भैरहेको दरवाङ बजारका बासिन्दाहरुलाई सहज रुपमा सफा र स्वच्छ खानेपानी सुबिधा उपलब्ध गराउन खानेपानी तथा सरसफाई सब डिभिजन कार्यालय म्याग्दीले आयोजना निर्माण गर्न लागेको हो ।Darbang Khanipani (3)

खानेपानी आयोजना निर्माणका लागि आईतबार स्थानीय रघुनाथ न्यौपानेको अध्यक्षतामा उपभोक्ता समिति गठन गरि सोमबार सर्वेक्षणको काम पनि सकिसकेको कार्यालयका प्रमुख ईञ्जिनियर शेखरचन्द्र केसीले जानकारी दिनुभयो ।Darbang Khanipani (2)

उहाँका अनुसार दरवाङ बजारको १ र २ नम्बर वडाका २८० घरधुरी लाभान्वित उक्त आयोजना निर्माण गर्न तिन करोड रुपैया लगानी हुने प्रारम्भिक अनुमान गरिएको छ । आयोजना मार्फत सबैको घरघरमा खानेपानीको धारा जडान हुनेछ । धारासंगै मिटर पनि जडान गरिनेछ् । बजारको ढल निकास र ब्यवस्थापनका लागि पनि खानेपानी आयोजनासंगै काम हुने जनाइएको छ ।Darbang Khanipani (1)

आगामी आर्थिक वर्षदेखि आयोजना सुरु हुने उक्त आयोजना मार्फत चार वटा मुहानको पानी संकलन गरेर उपभोक्तालाई वितरण गरिने ईञ्जिनियर केसीले बताउनुभयो । बिम र दरवाङको सिमानामा रहेको गोज्जाको साथै दरवाङ ७ र १ मा रहेका अन्य तिन वटा मुहानको पानी संकलन गरेर वितरण गर्ने योजना बनाइएको छ ।

पुरानो संरचना र सिमित स्रोतको खानेपानी हुँदा दरवाङबासीलाई दैनिक उपभोग तथा सरसफाईमा समस्या भएको थियो । आयोजना बन्ने भएपछि दरवाङका बासिन्दा उत्साहीत बनेका छन् । दरवाङ पश्चिम म्याग्दीको १५ वटा गाविसको केन्द्र मानिन्छ ।