म्याग्दीमा सप्ताहब्यापी स्वच्छ तथा स्वस्थ्य मासु अभियान सुरु

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी १४ चैत ।
म्याग्दीमा आईतबारदेखि सप्ताहब्यापी स्वच्छ तथा स्वस्थ्य मासु अभियान सुरु भएको छ ।
जिल्ला पशु सेवा कार्यालयले बधशालादेखि पसल र उपभोक्ताको भान्छासम्म सफा तथा स्वस्थ्य मासुको उपभोग गर्ने वातावरण बनाउन चेतनामुलक अभियान सुरु गरेको हो । अभियानको पहिलो दिन सदरमुकाम बेनीमा ¥याली र सरोकारवालाहरुबीच सफा तथा स्वस्थ्य मासु कसरी उपभोग गर्न सकिन्छ भन्ने विषयमा अन्तरक्रिया भएको छ ।

सप्ताह अन्तरगत सदरमुकाम र ग्रामिण क्षेत्रमा रहेका मासु पसलको अनुगमन गरी सुधारका लागि ब्यवसायीलाई सुझाव दिने तथा उपभोक्ता र व्यवसायिलाई फोहोर, अस्वस्थ्य मासुका कारण लाग्ने रोगहरुको बारेमा सचेत गराईने पशु सेवा कार्यालयले जनाएको छ । DSC01881
अस्वस्थ्य मासुको उपभोगका कारण देखिने स्वास्थ्य समस्या न्युनीकरणका लागि कृषक, मासु ब्यवसायी र उपभोक्तालाई सचेत बनाउने उद्देश्यले अभियान सञ्चालन गरेको पशु सेवा कार्यालयका प्रमुख बरिष्ठ पशु चिकित्सक दयराराम चापागाईले जानकारी दिनुभयो ।

अन्तरक्रिया कार्यक्रममा सहभागि मासु ब्यवसायी तथा कृषकहरुले बेनीमा बधस्थलको आवश्यकता रहेकोमा जोड दिएका छन् । उनिहरुले कुखुरा, बंगुर र खसीबोकाको लागि छुट्टै बधस्थलको ब्यवस्था गर्न सम्बन्धित निकायसंग माग गरेका छन् । बध गर्ने र बिक्री गर्ने एकै ठाउँ हुदा मासु पसलको सरसफाईमा समस्या देखिएको कुखुरा ब्यवसायी संघका अध्यक्ष शिव खड्काले बताउनुभयो ।

कृषक र मासु ब्यवसायीले ढुवानीका क्रममा र रोगले मरेका पशुपंक्षीको मासु बिक्री नगर्ने, मासु पसल सफा राख्ने प्रतिवद्धता जनाएका छन् । बंगुरपालक कृषक समेत रहनुभएका मासु ब्यवसायी डम्मर बिक र कृष्ण बिकले गोठ, बधस्थल र पसलको सरसफाईमा ध्यान दिन सके धेरै रोगबाट बच्न सकिने बताउनुभयो ।

कार्यक्रममा स्थानीय विकास अधिकारी चिरञ्जीवी पौडेल र बेनी नगरपालीकाका कार्यकारी अधिकृत छवीलाल सुवेदीले मासु पसलको सुधार हुन जरुरी रहेको बताउदै बधस्थल निर्माणका लागि सहकार्य गरेर अघि बढ्न सकीने बताउनुभयो ।

जिल्ला पशु सेवा कार्यालयका प्रमुख बरिष्ठ पशु चिकित्सक दयाराम चापागाईको अध्यक्षता र पशु चिकित्सक जिवन आचार्यको सञ्चालनमा सम्पन्न कार्यक्रममा पशु विकास अधिकृत नरबहादुर बानियाँले स्वागत गर्नुभएको थियो ।