ताजा समाचार:
Search

राममन्दिरको विकासका लागि करोडौको पुर्वाधार निर्माण

सन्तोष गौतम/विकल्प न्यूज
पर्वत,चैत १३ गते ।
पर्वतको माझफाँट गाविस ८ मा रहेको राममन्दिरलाई धार्मीक पर्यटकीय गन्तब्य स्थलको रुपमा विकास गर्न करोडौ लगानी गरेर पुर्वाधार निर्माण भएको छ ।

धार्मीक तथा पर्यटकीय हिसावले प्रशस्त सम्भावना बोकेको राममन्दिरमा आउने भक्तजन तथा पर्यटकहरुको सुबिधाका लागि पुर्वाधार निर्माण गरिएको हो । राममन्दिर सञ्चालक समितिले पुर्वाधार निर्माणसंगै त्यहाँको धार्मीक तथा पर्यटकीय महत्वको बारेमा प्रचारप्रसारमा पनि जोड दिएको छ । DSC01706

पछिल्लो ६ वर्षयता राममन्दिर परिसरमा करिब दुई करोड रुपैयाको लगानीमा पुर्वाधारहरु निर्माण गरिएको समितिका सचिव लोकनाथ रेग्मीले जानकारी दिए । उनका अनुसार वि.स २०६६ सालमा आयोजित महायज्ञबाट संकलित रकम र विभिन्न दाताको सहयोगमा मन्दिरको संरक्षण, पुर्वाधार विकास र प्रचारप्रसारको काम गरिएको हो ।

मन्दिर परिसरमा भक्तजनको सुबिधाका लागि ५० जना क्षमत्ताको साढे दुई तल पाहुना घर निर्माण भएको छ । मुक्तिनाथ तिर्थयात्रामा आउने तिर्थयात्रीलाई लक्षित गरेर पाहुनाघर निर्माण गरिएको हो । यसैगरी छुट्टै भान्छाकोठा, पुजारी तथा संरक्षक निवास, पुराना भवनको जिर्णोद्धार, प्रवचन सभाहल, ढल ब्यवस्थापनका लागि नाली, मन्दिर परिसरमा सिढी र नदी कटानबाट बचाउनका लागि तटबन्ध गरिएको सचिव रेग्मीले जानकारी दिए ।DSC01731

धौलागिरी हिमालको फेदी र रिखार क्षेत्रबाट बगेर आउने राहुघाट तथा मुक्तिनाथबाट आउने कालीगण्डकी नदीको संगम, विभिन्न धर्मशास्त्रमा उल्लेखीत कालञ्जर पर्वतको फेदी, मुक्तिक्षेत्रको प्रवेशद्धार गलेश्वर नजिक रहेको तथा परापुर्वकालमा ऋषिमुनीहरुले तपस्या गरेको स्थल भएकाले राममन्दिरको प्रशस्त धार्मीक महत्व रहेको युवा पण्डीत कमलनयन गौतमले बताए ।

रामन्दिर क्षेत्रको व्यवस्थापन र संरक्षणमा सघाउदै आएका पण्डीत गौतम अध्यक्ष रहेको राष्ट्रिय परोपकार महासंघ उक्त मन्दिरको संरक्षकको रुपमा रहेको छ । नदी किनार र एकान्त वातावरण रहेको राममन्दिर क्षेत्र प्रकृतीप्रेमी आन्तरीक पर्यटकहरुका लागि पनि उपयुक्त गन्तब्य बन्न सक्ने पण्डीत गौतमको भनाई छ ।

प्रशस्त सम्भावना भएर पनि ओझेलमा परेकाले राममन्दिरको प्रचारप्रसार र पुर्वाधार विकासमा सघाएको गौतमले बताउनुभयो । विश्वमा कालीगण्डकी नदीमा मात्र पाईने शालग्रामलाई संरक्षणका लागि मन्दिरमा संरक्षण गरेर राखिएको छ । विभिन्न आकारका शालग्राम शिला संग्रह गरिएको मन्दिरमा रामनवमीका समयमा बिशेष पुजाआजा हुने गर्छ ।

अन्य समयमा पनि दैनिक पुजाआजा र दर्शनका लागि मन्दिर खुल्ला रहने मन्दिरका संरक्षक केशवदास ब्रह्मचारीले बताए । त्यहाँ एक सय किलोग्रामको विश्वकै ठूलो दावी गरिएको शालग्राम पनि रहेको छ । राममन्दिर एक दशकअघि दैनिक पुजा समेत संचालन हुन नसकेर संकटमा रहेको थियो । पछिल्लो समय दाताको सहयोग र पुर्वाधार निर्माणसंगै सुबिधासम्पन्न बन्दै गएको संरक्षक ब्रह्मचारीले बताए ।

राममन्दिर संरक्षण समितिको नाममा हाल १७ रोपनी जग्गा छ । हाल निर्माण भएका पुर्वाधारलाई थप व्यवस्थित बनाउने, दिगो संरक्षण, पुजा, पाहुनाघर संचालनका लागि अक्षयकोष स्थापनाका साथै प्रचारप्रसार गरि भक्तजन भित्र्याउने उद्देश्यले चैत २६ देखि बैशाख ३ गतेसम्म रामनवमी पर्वको अवसर पारेर श्रीमद् भागवत रामनवमी महामहोत्सव आयोजना गरिएको छ ।