सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी १३ चैत ।
म्याग्दीको बेनी नगरपालीका १ रत्नेचौरका बासिन्दाहरुको पहलमा अञ्चल स्तरीय खेलमैदान निर्माण कार्य सुरु भएको छ ।
रत्नेचौर घर भई हाल विश्वका विभिन्न देशमा रहेका तथा देशभित्र पेशा व्यवसाय गर्ने रत्नेचौरबासीहरुको पहलमा स्थानीय बुढोचौर खेल मैदान स्तरवृद्धी गर्न लागिएको हो । हाल डोजर लगाएर खेलमैदान सम्माउने काम भैरहेको छ ।
खेलमैदान निर्माणका लागि नगद जुटाउन हाल नेपालमै रेष्टुरेष्ट ब्यवसाय सुरु गरेका रत्नेचौरका दिनेश रावलले जापानमा रहँदा र अमेरीकामा रहेका राजु बोगटीले मिसन बुढोचौर खेलमैदान अभियान चलाएका थिए ।
अभियानमार्फत हालसम्म नौ लाख रुपैयाँ संकलन भएको र बेनी नगरपालीका वडा न. १ को भौतिक पुर्वाधारतर्फको पाँच लाख रुपैयाँ बजेट पनि खेलमैदानलाईनै छुट्याइएको रत्नेचौर फुटबल कल्वका उपाध्यक्ष शंकर महतले जानकारी दिनुभयो ।
एक जनाले पाँच हजार देखि २५ हजार सम्म सहयोग गरेका छन् । डोजरले सम्माउने काम गरेपछि नगरपालीकाको बजेटले दुई सय मिटर प्यारापिट बनाइने भएको छ । स्थानीयले उपलब्ध गराएको नगद सम्माउने कामबाट बचत भएमा र थप सहयोग पाएमा प्याराफिट बिस्तार गर्ने लक्ष्य रहेको उपाध्यक्ष महतले बताउनुभयो ।
उक्त खेलमैदानको लम्बाई तिन सय र चौडाई डेढ सय मिटर रहेको छ । डिलतर्फ पहिलेनै रुखहरु रहेका छन भने कुनातर्फ बगैचा रहेको छ । प्यारापीटसंगै सम्माइएको खेलमैदानलाई हरियाली बनाउन दुवो रोप्ने योजना रत्नेचौरबासीले बनाएका छन् । खेलमैदान नजिकै बनभोज स्थल बनाउने लक्ष्य पनि रहेको छ ।
बागलुङ र म्याग्दी सदरमुकामको नजिकै रहेकाले उक्त खेलमैदानलाई अञ्चल स्तरीय बनाउन सकिने पर्याप्त सम्भावना छ । उक्त मैदानमा फुटबल, क्रिकेट लगायत सबै किसीमका खेल प्रतियोगिता, उत्सव, महोत्सव, सभा, समारोहहरु पनि सञ्चालन गर्न सकिने उपाध्यक्ष महतले बताउनुभयो ।
2 thoughts on “यसरी हुँदैछ रत्नेचौरमा अञ्चल स्तरीय खेलमैदान निर्माण (फोटोसहित)”