सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी,चैत १३ गते ।
मुदी गाविस ९ मा पर्ने बगर गाउँ म्याग्दीको बिकट र दुर्गम क्षेत्रमा पर्ने बस्ती हो । जिल्ला सदरमुकाम बेनीदेखि दुई दिनको यात्रा गरेपछि बगर गाउँमा पुग्न सकिन्छ । सदरमुकाम बेनी देखि दरवाङ सम्म गाडीमा चढेर दुई घण्टामा पुगीन्छ । दरवाङदेखि बगर जाने दुई वटा बाटो छन् । बिम मराङ कल्लेनी भएर बगर जाने पदमार्ग छ । ताकम मुदी हँुदै बगर जाने बाटो पनि नाउरामा पुगेर जोडिन्छ । पहिलो दिन नाउरामा बास बस्न पुगीन्छ । बगर यस्तो गाउँ हो जहाँ पुग्न अक्करे भिरमा दुई घण्टा लगातार हिड्नुपर्छ ।
‘माथि हेर्दा टोपी खस्ने, कुनै कारणले चिप्लीएर तल सिधै म्याग्दी नदीमा पुगीने’ नाउरा भिरमा शाहासीक यात्रा गरेपछि बगर गाउँ पुग्दा छुट्टै भुगोलमा पुगेको अनुभव हुन्छ । त्यसैले बगरलाई धेरैले म्याग्दीको कर्णाली पनि भन्ने गरेका छन् । कालो माटो भएको भिरालो पाखामा बगर गाउँ छ भने बगरको बेशीमा जेल्तुङ पर्छ । छरीएर घरहरु रहेको बगर र नजिकैको सिम्कोसमा मगर र दलित समुदायका ३४ घरपरिवारको बसोबास छ । स्थानीयबासीको कष्टकर जिवनयापन, भौगोलिक बिकटता र आधारभुत सेवा सुबिधाको अभावका कारण बगर गाउँको कहानी म्याग्दीको अन्य बस्ती भन्दा फरक छ । यद्यपी धौलागिरी पदमार्ग अन्तरगत म्याग्दीको अन्तिम मानवबस्ती बगर गाउँको पर्यटन, पशुपालन, जैविक बिबिधता, जलस्रोत लगायतको प्रसस्त सम्भावना पनि छ ।
सिम्कोस, बगर गाउँको प्रमुख समस्या हो सहज घोरेटोबोटो नहुनु । नाउराको भिरमा खनिएको घोरेटोबाटो साँघुरो मात्र छैन जोखिमयुक्त पनि छ । पहाडमा पर्खाल लगाएर बनाएको बाटो बढी भार पर्दा भत्कने गरेको छ । चैत २२ गते दरवाङबाट सामान लिएर बगर जाँदै गरेको एउटा खच्चरले टेकेको ठाउँको पर्खाल भत्कीएर खच्चर पनि भारीसंगै भिरबाट खस्यो । खच्चरले बोकेको सामान त भेटिएननै खच्चर पनि हेर्दा हेर्दै धेरै तल रहेको म्याग्दी नदीमा पुग्यो ।
केही वर्ष पहिले धौलागिरि बेसक्याम्पमा पर्यटकको सामान पु¥याएर फर्कीएका एक जना पुर्वी नेपालका भरिया नाउराको भिरमा हिड्दा हिड्दै माथिबाट खसेको ढुङ्गाले चोट लागेर ठहरै परे । हिडीरहेका ति व्यक्तिलाई ढुङ्गाले लागेपछि ढलेर भिरबाट खस्न पुगे । सगै रहेका अन्य भरियाहरुले भिरमा अड्कीएको ति ब्यक्तिको शव निकाल्न सकेनन् । धेरै पछि आफन्तहरु आएर हाड भेटाएर सतगत गरेर फर्कीए । नाउरा भिरको बारेमा बगरका बासिन्दाले सुनाएका यी उदाहरणनै काफी हुन्छ, त्यहाँको यात्रा कत्तिको जोखिमयुक्त छ भन्ने ।
नाउराको भिरमा वि.स २०६५ तिर खच्चर हिड्न सक्ने गरि बाटो खन्नुभन्दा अघि अझ धेरै जोखिम थियो । द्धन्द्धकालमा तत्कालीन माओवादीले सुरु गरेको नाउराको भिरमा घोरेटो बाटो खन्ने कामको केही भाग शान्ति स्थापना भएपछि नेपाली सेनाले पुरा गरेको थियो । अहिले बगर गाउँ भन्दा माथि तिन दिन हिडेर पुगीने ईटाली बेस क्याम्प सम्म खच्चर पुग्ने गरेको छ । स्थानीयबासी र हिमाल आरोहरण तथा राउण्ड धौलागिरी गर्न आउने पर्यटकले सामान ढुवानी गर्न खच्चरको प्रयोग गर्छन् । दरवाङ देखि बगरसम्म ढुवानी गरेको प्रतिकिलो २० रुपैयाँ तिर्नुपर्छ ।
सुरक्षित बाटोमात्र होइन बर्षेनी करिब एक हजार जना पर्यटक र तिनका सहयोगीहरु हिड्ने बगर देखि माथि विभिन्न ठाउँका खोलाहरुमा पुल छैन् ।
वि.स २०६९ मा जिविसले दोभानघाटमा एउटा झोलुङ्गे पुल बनाएको थियो । तातोपानी, रातोखोला, झुमरबोटखोला, ढाप्चाखोला, कैचीभिरखोला, तलीत्रेखोला, चतरेखोला, पहितेखोला, भुङगेनीखोला, थारओडारखोला लगायतका १३ ठाउँमा झोलुङ्गे निर्माण गर्नुपर्ने छ । ति ठाउँहरुमा काठ र दाउरा प्रयोग गरेर बनाइएको अस्थाई पुल (साँघु) तरेर ओहोर दोहोर गर्नुपर्छ । हिउँदमा बनाइने साँघुहरु बर्खामा नदीमा बढेर आउने बाढीले बगाएर लैजान्छ । साँघु बनाउन बर्षेनी स्थानीयको समय र श्रम खेर गैरहेको छ ।
बगर गाउँमा राज्यको उपस्थित जनाउने एउटा प्राथमिक विद्यालय छ । विद्यालय भएपनि दुर्गम र बिकट भएकाले प्रायः शिक्षकहरु जान मान्दैनन् । त्यहाँ काम गर्ने शिक्षकहरुलाई पनि प्रोत्साहन छैन् । सेवा निवृत्त हुने अवस्थामा बगरको कैलाश प्राबिमा जाने शिक्षकहरु धेरै हुन्छन् । विद्यार्थीहरुको सिकाई उपलब्धि सन्तोषजनक छैन् । प्राबि उत्तिर्ण गरेपछि त्यहाँका बालबालीकाको अगाडी दुई विकल्प छ । पहिलो विकल्प घर छाडेर मुदी र खिवाङमा रहेको माविमा पढ्न जानुपर्छ । कि भने पढ्न छाडेर बस्नुपर्छ ।
स्वास्थ्य सेवाका लागि नजिकमा पर्ने मुदी स्वास्थ्य चौकीमा पुग्न पुरै दिन लाग्छ । गाउँघर क्लिनिक भएपनि बिरामी पर्दा तत्काल स्वास्थ्य सेवा पाउँन उनिहरुलाई सम्भव छैन् । पर्यटकको आगमन हुने भएकाले सरसफाईमा स्थानीय सचेत भएपनि अझसम्म बगर गाउँमा खानेपानी योजना निर्माण भएको छैन् ।
खुल्ला मुहान र धाराको पानी उपयोग गर्दै आएका बगरबासीहरु बल्ल खानेपानी योजना निर्माणमा जुटेका छन् । गैरसरकारी संस्था असल छिमेकी नेपालद्धारा सञ्चालित म्याग्दी सामुदायिक परियोजनाको सहयोगमा बगरका बासिन्दाहरु श्रमदान गरेर खानेपानी योजना निर्माणमा व्यस्त छन् । परियोजनाबाट पाँच लाख ६६ हजार रुपैयाँ सहयोग पाएका उनिहरुले योजना सम्पन्न गर्दा थप त्यतीनै लगानी गर्नुपर्ने देखिएको छ ।
नेपाल टेलीकमले बगर गाउँमा भिस्याट प्रबिधीको टेलीफोन लाईन जडान गरेको छ । देशका धेरै बासिन्दाहरुले हातहातमा मोवाईल चलाउँदा बगरका बासिन्दाहरु महँगो प्रबिधिको भिस्याटबाट फोनमा कुरा गर्छन् । खोचभित्रको बस्ती भएकाले एफ एम रेडियो सुन्नलाई पनि निकै कसरत गर्नुपर्ने अवस्था छ । टिभी हेर्न त सपनाकै कुरा भयो । बस्ती वरपरका खोला नालामा बर्षौदेखि पानी बगेर खेर गइरहेको भएपनि विद्युत सुबिधा छैन् । कमाई गर्न सक्नेहरुले घरमा सोलार जोडेका छन् ।
नहुनेले रातको अध्यारोलाई उज्यालो बनाउन टुकीको साहरा लिएका छन् । हालै मात्र बगरमा लघुजलविद्युत निर्माणका लागि सर्बेक्षणको काम सकिएको छ । बैकल्पीक उर्जा प्रर्वद्धन केन्द्रको सहयोगमा धौलागिरी सामुदायीक स्रोत विकास केन्द्र, जिविस, गाविस र समुदायको लगानीमा १२ किलोवाट क्षमत्ताको लघुजलविद्युत परियोजना निर्माण गर्ने तयारी भएको छ । खेती किसानीमा निर्भर बगर गाउँका बासिन्दाहरुले विकास पुर्वाधार र सामाजिक कामका लागि बर्षमा कम्तीमा दुई महिना श्रमदानमा खट्नुपर्ने अवस्था छ ।
पुर्वाधार विकासका हिसावले पछाडि परेपनि बगर गाउँ पर्यटकीय, जैविक र प्राकृतिक सौन्दर्यताले भने सम्भावनायुक्त ठाउँ हो । बगर गाउँ राउण्ड धौलागिरि पदयात्राको म्याग्दीमा पर्ने अन्तिम मानव बस्ती हो । धौलागिरि आरोहण गर्न र राउण्ड धौलागिरिको फेरो मार्न यही गाउँ भएर पर्यटकहरु जाने गरेका छन् । बगरदेखि माथी दोभान, ईटली क्याम्पमा स्थानीयले चिया पसल र सामान्य होटल सञ्चालन गरेका छन् । पर्यटक सिजनमा मात्र चिया पसल र होटल सञ्चालन हुन्छ ।
यद्यपी लगानीको अभावमा स्तरीय र सुबिधायुक्त होटल खुल्न सकेका छैनन् । पर्यटकहरुले भरिया, खच्चर र हेलीकप्टर मार्फत सामानहरु बेसक्याम्प सम्म लैजान्छन् । क्याम्प गरेर बस्नुपर्छ । बगर गाउँका केही घरमा घरबास सरहको सुबिधा सुरु भएको छ । चार वटा घरमा पर्यटक बस्नका लागि छुट्टै कोठा र बेडको व्यवस्था गरिएको छ । जहाँ पर्यटकले खाना खाने र बास बस्ने सुबिधा पाउँछन् । यद्यपी होटल खुल्न सकेका छैनन् । पाँच हजार ४०० मिटर उचाईमा रहेको थापा पिक छिचोलेर मुस्ताङको मार्फा पुगीने राउण्ड धौलागिरिको यात्रा साहासीक मानिन्छ ।
बगर र त्यहाँभन्दा माथि जाने बाटोमा यात्राका क्रममा नजिकबाट हिमाल र मनमोहक झरनाहरुको दृष्यले मोहनीनै लगाउँछ । अग्ला पहाडबाट छङछङ गर्दै, सुसाउदै झर्ने झरनाहरुको सौन्दर्यता वर्णन गरि साध्य छैन् । बगर गाउँ पुगी नसक्दै नाउराको भिर सकिने वित्तिकै पारी झोङ भोङे झरना देख्न सकिन्छ । बगरबाट बेसक्याम्पतिर माथि लागेपछि मिस्तुङ कुना, लामो, कुलिवाङ, तातोपानी र झुम्टोगोठको छहरा अवलोकन गर्न सकिन्छ । पहाडका कोप्चाहरुमा बाटोबाटै भिरमाहुरीको घारहरु पनि प्रसस्तै देखिन्छ । गाउँ नजिकैको जंङ्गलमा मृग, रतुवा, झारल, जंगली भैसी, भालु, डाँझे, कालीज लगायत जिवजन्तु र पंक्षिहरुको बस्छन् । गाउँबाटै भिरमा मृग, झारल चरिरहेको दृष्य देख्न सकिन्छ । चराहरुको चिरबिर आवाज सुन्दा रमाईलो अनुभव हुन्छ ।
बगर गाउँदेखि एक घण्टा पैदल हिडेपछि प्राकृतिक तातोपानीको मुहान भएको ठाउँमा पुग्न सकिन्छ । धौलागिरी बेसक्याम्प जाने पदमार्गबाट म्याग्दी नदीमा बनाएको साँघु तरेपछि ४२ डिग्री सेल्सीयस तातोपानी निस्कने मुहान पुगिन्छ । पहाडको फेदीबाट निस्कने तातोपानीमा स्नान गर्नका लागि पानी संकलन गर्ने तलाउ बनाइएको छ । तलाउमा स्नान गरेर उपचार गराउन बगर, मुदी, खिवाङ, मल्कवाङ, ताकम, देविस्थान, मुना लगायत गाविसका बासिन्दाहरु जान्छन् । तातोपानी कुण्ड संरक्षण समितिलाई एक सय रुपैया तिर्नुपर्छ । समितिले गत वर्ष दरवाङका ब्यापारीहरुको निर्माण सामाग्री सहयोगमा कुण्ड र टहरा बनाएको छ । तातोपानी कुण्डको नजिकै रमणीय छहरा रहेको छ ।
प्रसस्त जंगल र चरन क्षेत्र भएकाले यस क्षेत्रमा गाई, भैसी, भेडाबाख्रा पालनको सम्भावना छ । सतुवा, चिराईतो जस्ता जडिवुटीको खेती गर्नका लागि यस क्षेत्रमा खेर गइरहेको जग्गा जमिन उपयुक्त छन् । यसैगरी जलविद्युतको हिसावले पनि यस क्षेत्र सम्भावनायुक्त मानिएको छ । हाईड्रो भिलेज कम्पनीले बगर हुदै बग्ने म्याग्दी नदीबाट २५ मेघावाट जलविद्यूत आयोजना निर्माण गर्न सर्वेक्षणको काम सुरु गरेपछि स्थानीयमा उत्साह छाएको छ । दोभानघाटमा बाँध रहने आयोजनाको जेल्तुङमा विद्युतगृह बनाउने खबरले उनिहरुमा खुसीको सञ्चार गराएको हो ।
यद्यपी अनकण्टार पहाडहरु छिचोलेर सडक लगायत पुर्वाधार तयार गरि जलविद्युत आयोजना निर्माण गर्न भने धेरै वर्ष कुर्नुपर्ने देखिन्छ । भौगोलिक विकतटाकै कारणले राज्यका निकायको न्युन उपस्थिती रहेको बगर गाउँमा चेतना अभिवृद्धीका लागि सामाजिक संघ संस्थाहरुको उपस्थिती अझै बढाउनुपर्ने आवश्यकता छन् । असल छिमेकी नेपाल बाहेक अन्य सामाजिक संघ संस्था बगर गाउँमा पुग्न सकेका छैनन् । राज्यका निकाय र राजनीतिक रुपमा त्यहाँका बासिन्दाको पहुँच पुग्न सकेको छैन् ।
बगर गाउँको विकासका लागि सुरक्षित घोरेटोबाटो, गुणस्तरीय शिक्षा, खानेपानी, स्वास्थ्य सेवासंगै झोलुङ्गे पुल बगर गाउँको पुर्वाधार विकासमा प्राथमिकता दिनुपर्ने आवश्यकता छ । यसैगरी पर्यटकीय स्थल र प्राकृतिक सम्पदाहरुको संरक्षण र प्रचारप्रसार गर्न सकेमा बगर भएर धौलागिरी राउण्डको पदयात्रामा हजारौ पर्यटक भित्र्याउन सकिन्छ । जसका लागि सुबिधायुक्त होटल खोल्न निजी क्षेत्रले लगानी भित्र्याउनपर्छ । नवविकल्पमा प्रकाशित