सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी १३ चैत ।
म्याग्दीको बेनीमा स्थापना भएको नविन आनन्द योग केन्द्रको शुक्रबार साँझ उद्घाटन गरिएको छ । केन्द्रको योगगुरु डाक्टर विकासानन्दले एक समारोहका बीच उद्घाटन गर्नुभएको हो ।
योगको माध्यमबाट मानिसलाई तनावमुक्त बनाउने र स्वास्थ्य समस्या न्युनीकरण गर्न सघाउने उद्देश्यले केन्द्रको स्थापना भएको थियो । केन्द्रले म्याग्दीका साथै छिमेकी जिल्लाहरुमा योग शिवीर सञ्चालन गरेर तनाव ब्यवस्थापन, योग प्रशिक्षण सञ्चालन गर्ने उद्देश्य पनि राखेको छ ।
केन्द्रको उद्घाटन कार्यक्रममा योगी विकासानन्दले खुसी रहनुनै रोगबाट बच्ने सर्वोत्तम उपाए भएको बताउनुभयो । उहाँले विश्वका वैज्ञानिकहरुले पत्ता लगाएको एक हजार थरीका रोग मध्य धेरैजसोको कारण तनाव भएको बताउनुभयो ।
तनावबाट मुक्त हुन योग, साधना गर्नुपर्ने, स्वच्छ आहारको उपयोग र खुसी रहनुपर्नेमा योगी बिकासानन्दले जोड दिनुभयो । विश्व स्वास्थ्यको प्रमुख चुनौतीका रुपमा देखिएको तनाव ब्यवस्थापनका लागि योग प्रभावकारी माध्यम हुने उहाँको भनाई थियो ।
कार्यक्रममा सहभागिहरुले बिरामी भएपछि लाखौ खर्च गरेर उपचार गर्नुभन्दा आहार, ब्यवहार र बिचारमा ध्यान दिने र तनावबाट मुक्त रहेर रोगबाट बच्ने विकल्प रोज्न आग्रह गरेका थिए ।
म्याग्दीमा क्रियाशिल राजनितिक दलहरुको तर्फबाट नेपाली काँग्रेसका जिल्ला सदस्य मिनबहादुर कार्की, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष जिवनबहादुर विश्वकर्मा र संस्थाका सल्लाहकार प्रकाशकुमार श्रेष्ठले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।
नविन आनन्द योग केन्द्रका अध्यक्ष नविन जुक्जालीको अध्यक्षता, सहसचिव खिम श्रीसको सञ्चालन र सदस्य हरि पौडेलको स्वागतमा सम्पन्न कार्यक्रममा संस्थाका सदस्यहरुलाई योगी विकासानन्दले स्वागत गर्नुभएको थियो । यसैगरी योगासनको प्रर्दशनी र थालीनाचद्धारा स्वागत गरिएको थियो ।
नविन आनन्द योग केन्द्रका आयोजनामा योगी विकासानन्दको उपस्थितीमा चैत १३ र १४ गते दरवाङ तथा १५ र १६ गते बेनीमा कुण्डलिनी योग शिवीर सञ्चालन हुने सचिव सुरेन्द्रराज शर्माले जानकारी दिनुभयो ।