विकल्प न्यूज/बेनी
पर्वत,चैत १२ गते ।
पर्वतको माझफाँट ८ जयालेमा रहेको राममन्दिरमा चैत २६ देखि आगामी बैशाख ३ गतेसम्म श्रीमद् भागवत रामनवमी महामहोत्सव सञ्चालन हुने भएको छ । राष्ट्रिय परोपकार महासंघद्धारा संरक्षित राममन्दिरको सर्वाङगीण विकासका लागि रामनवमी पर्वको अवसरमा हुन लागेको महोत्सवको तयारी तिब्र पारिएको छ ।
कालीगण्डकी र राहुघाट नदीको संगम, कालञ्जर पर्वतको फेदी, मुक्तिक्षेत्रको प्रवेशद्धार, शालग्राम संग्राहलय र गलेश्वरको नजिकै रहेको राममन्दिरको प्रचारप्रसार गरि धार्मीक पर्यटक भित्र्याउने तथा पुर्वाधार विकासका लागि आर्थिक स्रोत जुटाउन महोत्सव हुन लागेको महासंघका अध्यक्ष पण्डीत कमलनयन गौतमले जानकारी दिनुभयो ।
राममन्दिर परिसरमा आश्रम निर्माण गरी त्यसलाई सेवा सूचारु दिन र दैनिक पुजाआजा सञ्चालन गर्न कोष स्थापना गर्ने, मन्दिर प्रवेशद्धार, सत्संग भवन निर्माण र आश्रम स्थापना गर्ने उद्देश्यले रामनवमी महामहोत्सव आयोजना गरिएको राममन्दिर सञ्चालक समितिका सचिव लोकनाथ रेग्मीले बताउनुभयो ।
उहाँका अनुसार पण्डीत कमलनयन गौतमले कथा वाचन गर्नुहुने धार्मीक महोत्सवको ब्यवस्थापन, पुर्वाधार निर्माण, प्रचारप्रसार लगायतका तयारी तिब्र बनाइएको छ । वि.स २०६६ सालमा महायज्ञ आयोजना गरेर संकलित रकमले राममन्दिर परिसरमा करोडौ लगानीमा पुर्वाधार निर्माण गरिएको छ भने व्यवस्थित बन्दै गएको छ ।