चिमखोलामा चौबीसै घण्टा बिद्युत सुबिधा

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी ११ चैत ।
म्याग्दीको चिमखोलाका बासिन्दाले मासिक एक सय रुपैया शूल्कमा चौबिसै घण्टा विद्युत सुबिधा उपभोग गरिरहेका छन् ।

विद्युतभार कटौतीका कारण सहरी क्षेत्रको जनजिवन अस्तव्यस्त बनेको अवस्थामा चिमखोला गाउँमा चौबिसै घण्टा विद्युत सुबिधा उपलब्ध छ । चिमखोलामा रहेको बगरखोला लघुजलविद्युत परियोजनाबाट उत्पादन हुने विद्युत सबै खपत हुन नसकेर खेर पनि गएको छ ।Chimkhola (3)

चिमखोलाको सबै वडा र छिमेकी कुईनेमंगलेको १ नम्बर वडाका गरि ३१२ घरधुरीलाई मासिक न्युनतम एक सय रुपैयामा नियमित विद्युत सुबिधा उपलब्ध गराएको परियोजनाका प्राबिधिक निरबहादुर पुनले जानकारी दिनुभयो । ३५ किलोवाट क्षमत्ताको परियोजनाबाट उत्पादीत विद्युत स्थानीय बासीन्दाले उज्यालोका लागि बक्ति, टिभी हेर्न, मोवाईल, ल्यापटप चार्ज गर्न प्रयोग गर्छन् ।

दुई वटा टर्वाइन भएकाले आलो पालो गरेर चलाउने गरिएको छ । परियोजनाको विद्युतबाट चिमखोलाको अमर माविमा कम्प्युटर विषयको पठनपाठन सञ्चालन भएको छ । दुई वटा कुटानी पिसानी मिल पनि छ । घरमा मिटर राख्ने उपभोक्तालाई मासिक एक सय र मिटर नराख्नेलाई १२० रुपैयाका दरले शूल्क लिने गरिएको अर्का प्राबिधिक रुदीसकुमार पहरे पुनले बताउनुभयो ।Chimkhola (1)

न्युनतम शूल्कमा आवश्यक परेको समयमा विद्युत उपभोग गर्न पाउँदा उपभोक्ताहरु खुसी भएका छन् । दुई वटा टरवाईन र जेनेरेटरको ब्यवस्था गरेकाले पालो गरेर प्रयोग ल्याउने गरिएको छ । एउटाले काम नगर्दा अर्को प्रयोग हुने हुँदा कहिल्यै पनि बक्ति नभएर लोडसेडीङको महसुस गर्नुपरेको छैन् ।Chimkhola (2)

सहकारी संस्था मार्फत सञ्चालित परियोजनाले मासिक दश हजारका दरले तलब दिएर दुई जना प्राबिधिकलाई रोजगारी पनि दिएको छ । मासिक ३६ हजार विद्युत महशुल उठ्ने गरेको छ । प्राबिधिकको तलबखर्चबाट बचेको रकम मर्मत सम्भारमा परिचालन हुने गरेको छ । यसैबीच परियोजनालाई चिमखोलाकी बिरमती गर्बुजाले दिवंगत श्रीमान कप्रसाद गर्बुजाको स्मृतीमा ६० हजार रुपैया सहयोग गर्नुभएको छ ।

गर्बुजाले उपलब्ध गराउनुभएको नगद कोषमा जम्मा गरि मर्मत सम्भार तथा आकम्मीक अवस्थामा प्रयोग गर्ने व्यवस्था मिलाइएको छ । वि.स २०५७ सालमा वैकल्पीक उर्जा प्रर्वद्धन केन्द्रको सहयोगमा ग्रामिण उर्जा विकास कार्यक्रम मार्फत निर्माण भएको परियोजना प्रभावकारी भएको उपभोक्ता समितिका अध्यक्ष धु्रब पाईजाले बताउनुभयो । उहाँका अनुसार परियोजनाको दिगो संचालन र क्षमत्ता विस्तारका लागि कोषमा रकम बढाउने योजना बनाइएको छ ।