विकल्प न्यूज/बेनी
म्याग्दी ८ चैत ।
म्याग्दी सदरमुकाम बेनीका धरधनीहरुलाई सोमबार कौसीखेती प्रबिधि सम्बन्धि तालीम दिइएको छ ।
जिल्ला कृषि विकास कार्यालयको आयोजनामा बेनीका २५ जना बजारबासीहरुलाई घरको छत र गमलामा तरकारी खेती गर्ने प्रबिधिको बारेमा तालीम प्रदान गरिएको हो । घरको खाली छतलाई उपभोगमा ल्याई तरकारी खेती गर्ने उद्देश्यले घरधनीहरुलाई तालीम दिइएको कार्यालयले जनाएको छ ।
बरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद रिजाल, बागबानि विकास अधिकृत भोजबहादुर थापा र प्राबिधिक सहायक श्यामराज क्षेत्रीले स्थलगत तालीमको सहजिकरण गर्नुभएको थियो । कौसी खेतीको माध्यमबाट स्वच्छ तरकारी उत्पादन, खर्चको बचत, वातावरण संरक्षण र तरकारी आयातमा कमी ल्याउन सकिने सम्भावना रहेको छ । सन्तोष गौतम