सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी ८ चैत ।
म्याग्दी सदरमुकाम बेनीबजार नजिकै रहेका दुई वटा सामुदायीक वनमा सोमबार भिषण आगोलागी भएको छ ।
बराहपाखो र आँपरुख सामुदायीक वनमा लागेको डडेलोले संयौ रोपनी जंगल सखाप पारेको छ । दिउँसो ११ बजेतिर बराहपाखो र आँपरुख वन क्षेत्रको सिमानाबाट सुरु भएको आगोलागीले दुई वटै बनको धेरैजसो ठाउँमा क्षत्ती गरेको छ ।
छ घण्टापछि साँझ ५ बजेतिर डडेलो नियन्त्रणमा आएको थियो । मध्यान्न दुईबजेदेखि चलेको हुरीबतासका कारण डडेलो झन फैलीएको थियो । दुई घण्टासम्म चलेको हुरीबतास र नजिकैको जंगलमा लागेको डडेलोका कारण निस्कीएको धुँवा र धुलोले बेनी बजार बासीलाई सकस भएको थियो ।
जिल्ला प्रहरी कार्यालय, अर्थुङ्गेको ईन्द्रबक्स गण र कुश्माबाट आएको शसस्त्र प्रहरीको टोलीका साथै स्थानीयबासीहरु आगोलागी नियन्त्रणमा परिचालन भएका थिए । बेनी नगरपालीकाको दमकल पनि प्रयोग भएको थियो । डडेलोले ससाना बिरुवा, वन्यजन्तु, पंक्षीहरुको बासस्थान ध्वस्त पारेको छ । बेनी बजारमा ल्याइएको खानेपानीका पाईप र बेनीबाट अर्थुङ्गे तर्फ लगीएको केबुल, टेलिफोनको फाईबरमा क्षक्ती पुगेको छ ।
डडेलो लगाउने व्यक्तिको भने पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सुख्खा यामसंगै केहीदिनयता म्याग्दीका सामुदायीक र राष्ट्रिय वन क्षेत्रमा डडेलो लाग्ने क्रम बढेको छ । आईतबारमात्रै बेनी गलेश्वर सडकको रातोपहिरो क्षेत्रको वनमा लागेको डडेलो राहुवडाको बस्तीमा पुग्दा एक वटा घर जलेर दश लाख रुपैयाँ बराबरको क्षत्ती भएको थियो ।