साढे २ किलो युरेनियमसहित चारजना पक्राउ

२८ फागुन, काठमाडौं । साढे २ किलो युरेनियमसहित चारजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामेछापको लिखु तामाकोशी गाउँपालिका–५ बस्ने ४० वर्षीय नारायण सिंह तामाङ, सोही ठाउँ घर भई हाल काठमाडौंको बौद्ध बस्ने ४० वर्षीया जानुका तामाङ, रामेछापको बागजोर नगरपालिका–४ का २० वर्षीय प्रकाश चौहान र सिन्धुलीको सुनकोशी–४ बस्ने २० वर्षीय मनोज न्यौपाने रहेका छन् ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीले शुक्रबार पत्रकार सम्मेलन गरी बौद्ध क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको जानकारी दिएको छ । एआईजी हरिबहादुर पालका अनुसार नेपालमा युरेनियम बरामद भएको यो पहिलो घटना हो ।

बरामद भएको वस्तु प्रशोधन नगरिएको युरेनिययम भएको परीक्षणबाट पुष्टि भएको उनले जानकारी दिए । उनीहरुलाई विस्फोटक पदार्थसम्बन्धी ऐनअनुसार कारबाही हुने प्रहरीले बताएको छ ।

‘रअ एक्स २३८ लेखिएको हो यो। यसलाई प्रशोधन गरिएकोमा २३५ हुन्छ। शुद्ध युरेनियमको बजार मूल्य १० ग्रामको २० लाख ९ हजार अमेरिकी डलर हुन्छ। नेपाली मूल्य करिब १८ करोड पर्छ,’ एसपी राठौरले भने,’ अहिले हामीले बरामद गरेको काँचो पदार्थ हो। त्यसको मूल्य पनि महँगो हुन्छ।’

प्रहरीले सुरूमा आफैं कारोबारी बनेर उनीहरूसँग डेढ अर्बमा किन्ने डिल गरेका थिए। डिल गरी उनीहरूबाट प्रहरीले नमूना लिई नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान(नास्ट)मा पठाएको थियो।