तमानखोलामा पिकअप खस्यो, एकको मृत्यु पाँच घाईते

विकल्प न्युज म्याग्दी,
फाल्गुन २७

 बागलुङको तमानखोला गाउँपालिकामा पिकअप भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पाँच जना गम्भिर घाईते छन् । मृतकको परिचय खुलेको छैन् । बिहिबार दिउँसो पालिका मुकाम बोंगादोभानबाट महभीर गाउँका लागि हिँडेको ग१ज ५७०५ नम्वरको पिकअप भ्यान महभीर नजिकैको भीरबाट खसेको हो ।

चालक सहित छ जना सवार भ्यान सडकबाट आन्दाजी दुईसय मिटर तल खसेको छ । घाईते मध्ये तीन जनालाई प्रभुको हेलिकप्टर मार्फत गण्डकी अस्पताल पोखरा पठाईएको गाउँपालिका अध्यक्ष जोकलाल बुढाले बताए । बाँकी दुई जनाको समेत अवस्था गम्भिर रहेकाले दोस्रो पटक हेलिकप्टर बोलाएर अस्पताल पठाउने तयारी भैरहेको छ ।

‘यहाँको अबस्था दर्दनाक छ परिचय खोज्न भन्दा उद्धारमा धेरै ध्यान दिएका छौं’ घटनास्थलमै रहनुभएका स्थानीय झक बहादुर बुढाले भने ‘सबैको शरिरका बिभिन्न ठाउँमा चोट लागेको छ, अवस्था गम्भिर छ ।’ साँघुरो सडकबाट भ्यान खसेको उनले बताए ।