सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी,चैत ८ गते ।
पछिल्लो साता म्याग्दीमा ‘होस्टेल’ (छात्रावास)को विषयमा चर्चा चुलिएको छ । ट्युसन पढ्नका लागि बेनीको एक होस्टलमा भर्ना भएका विद्यार्थीको म्याग्दी नदीमा पौडी खेल्ने क्रममा डुवेर मृत्यु भएपछि होस्टेल बहशको विषय बनेको हो ।
ति विद्यार्थीको ज्यान जानुको जिम्मेवार स्वम उनि, होस्टेल प्रशासन वा अन्य कोही भन्ने विषयमा अध्ययन अनुसन्धान भैरहँदा अर्कोतर्फ बेनीमा सञ्चालित होस्टेलको सुरक्षा, कानुनी बैधानीकता, ब्यवस्थापन, गुणस्तरीयताको प्रश्न पनि दरीलो रुपमा उठेको छ । शिक्षामार्गमा रहेको एशियन होस्टेलमा बसेर पढ्ने पुलाचौरको जनकल्याण माविबाट एसएलसी परिक्षामा सहभागीता जनाउँदै गरेका अनील पाईजाको मृत्युसंगै बेनीका होस्टेलहरुको वास्तवीकता खुलासा भएको छ ।
जिल्ला शिक्षा कार्यालयको अभिलेखमा म्याग्दीमा निजी विद्यालय र स्रोत कक्षा बाहेक अरु कसैले पनि होस्टेल सञ्चालनका लागि अनुमती नलिएको उल्लेख छ । होस्टेल त टाढैको कुरा ट्युसन तथा कोचीङ कक्षा सञ्चालन गर्न पनि कसैले शिक्षा कार्यालयबाट अनुमती लिएका छैनन् । जिल्ला शिक्षा अधिकारी रामप्रसाद अधिकारीले होस्टेल सञ्चालन गर्न कार्यालयबाट अनुमती लिनुपर्ने नीतिगत ब्यवस्था भएपनि जिल्लामा कसैले अनुमती माग्न नआएको जानकारी दिए ।
शिक्षा मन्त्रालयले तयार पारेको विद्यालय छात्रावास व्यवस्थापन निर्देशीका २०७१ मा विद्यालयको छात्रावास सञ्चालन सम्बन्धि कार्यबिधी छ । जसमा संस्थागत, सामुदायीक र सेवामुलक संघ संस्थाले जिल्ला शिक्षा कार्यालयको अनुमती लिएर छात्रावास सञ्चालन गर्न पाउने व्यवस्था छ । निर्देशीकामा उल्लेख भएअनुसार नयाँ शैक्षिक सत्र सुरु हुनु तिन महिना अघि छात्रावास सञ्चालन गर्न निवेदन दिनुपर्ने र जिल्ला स्तरीय समितिले अनुगमन गरि मापदण्ड पुरा भएको अवस्थामा सञ्चालन गर्न अनुमती दिन सक्नेछ ।
निजी र सामुदायीक विद्यालयको छात्रावास सञ्चालन सम्बन्धमा स्पष्ट ब्यवस्था भएपनि व्यवसायिक होस्टेलको विषयमा निर्देशीका अस्पष्ट छ । तर जिशिअ अधिकारी ब्यवसायिक होस्टेलहरुका सम्बन्धमा सेवामुलक छात्रावास सम्बन्धि व्यवस्था आकर्षित हुने भएकाले राज्यको कानुनबाट कोही उम्कन नपाउने बताउँछन् । ‘सञ्चालकले हामीकहाँ निवेदन दिएपछि मापदण्ड पुगे, नपुगेको अनुगमन गरि छात्रावास चलाउन स्वीकृत दिन सकिन्छ’ जिशिअ अधिकारीले भने ‘तर म्याग्दीमा यो व्यवस्था न्युन मात्रामा कार्यान्वयन भएको छ ।’
निजी विद्यालय र सामुदायिक विद्यालयमा रहेका स्रोत कक्षाका छात्राबासले मात्रै शिक्षा कार्यालयबाट अनुमती पाएका छन् । छात्रावास सञ्चालन गर्न शिक्षा कार्यालयमा दुई लाख रुपैयाँ घरौटी राख्नुपर्ने ब्यवस्था छ । बेनीमा ट्युसन कोचीङ पढाउन, विद्यार्थीसंगै अन्य पाहुना राख्न सञ्चालित छात्रावास मात्र नभई अन्य सामुदायिक विद्यालयले दश कक्षाका विद्यार्थीको एसएलसी परिक्षालाई केन्द्रित गरेर चलाएका छात्राबासहरु पनि कानुन विपरीत देखिएका छन् ।
ट्युसन, कोचीङ (अतिरित्त) कक्षा सञ्चालन गर्न पनि शिक्षा कार्यालयबाट अनुमती लिनुपर्ने नीतिगत व्यवस्था छ । जिल्ला शिक्षा कार्यालयका विद्यालय निरिक्षक विश्वप्रकाश रेग्मी सामुदायिक विद्यालयले शूल्क लिएर विद्यालयमा ट्युसन, कोचीङ पढाउनै नमिल्ने बताउँछन् । ‘विद्यालयमा अतिरित्त कक्षा मात्रै सञ्चालन गर्ने हो । ट्युसन पढाउन पाउने नियम छैन्’ रेग्मीले भने । ट्युसन कोचीङ सञ्चालन गर्न जिल्ला शिक्षा कार्यालयमा पचास हजार रुपैयाँ धरौटी जम्मा गर्नुपर्छ । म्याग्दीमा अहिलेसम्म कसैले पनि ट्युसन, कोचीङ पढाउनका लागि धरौटी जम्मा गरेर अनुमती नलिएको विद्यालय निरिक्षक रेग्मीले बताए । तर सदरमुकाममा रहेका ट्युसन पढाउने होस्टेल, सामुदायिक, निजी विद्यालय मात्र नभएर गाउँका धेरै विद्यालयमा अंग्रेजी, गणीत र विज्ञान विषयको ट्युसन पढाई हुन्छ ।
कक्षा कोठामा पढाउन ध्यान नदिने शिक्षकहरुका लागि ट्युसन कोचीङ कमाईखाने माध्यम बनेको छ । कक्षामा कोर्स नसिकाउने र पछि ट्युसन कोचीङ पढाउन बल गर्ने केही शिक्षकहरुको नियत पनि देखिन्छ । केही विद्यालयले भने कोर्स सिध्याएर विद्यार्थीको सिकाई उपलब्धी बढाउन र धेरै उत्तिर्ण गराउने उद्देश्यले अभिभावकको सहमतीमा ट्युसन कोचीङ सञ्चालन गरेका छन् । ग्रामिण क्षेत्रका सामुदायिक विद्यालयले एसएलसी दिने विद्यार्थीलाई केन्द्रित गरेर चलाएको होस्टेल र अतिरिक्त कक्षा बढी अंक ल्याउन र धेरै विद्यार्थी उत्तिर्ण गराउन प्रभावकारी पनि देखिएका छन् ।
नीति नियम भएर पनि कार्यान्वयन नहुनु र अर्कोतर्फ होस्टेल, ट्युसन र कोचीङको नाममा महँगो शूल्क उठाउने कार्य नरोकिनुमा राज्यका निकायको निरीहता देखिने म्याग्दीमा क्रियाशिल विद्यार्थी संगठनका नेताहरु बताउँछन् । भएको ऐन, नियम कार्यान्वयन गर्ने जिम्मेवारी पाएका शिक्षा कार्यालय, प्रशासन निदाएजस्तो भुमिकामा रहनुले शिक्षा क्षेत्रमा बेथिति मौलाएको उनिहरुको आरोप छ । अर्कोतर्फ कुनै समस्या नआउँदासम्म चुप बस्ने र समस्या आएको अवस्थामा मात्र ऐन नियम खोज्ने विद्यार्थी र अभिभावकहरुको ब्यवहार पनि राज्यको नीति नियम कार्यान्वयन नहुनुको अर्को कारण हो ।
यद्यपी पछिल्लो समय कानुनी प्रक्रिया पुरा नगरी सञ्चालन भैरहेका छात्रावास, ट्युसन, कोचीङ कक्षाहरुलाई नियमन गरेर निश्चित मापदण्ड लागू गर्नपर्ने दवाव बढेको छ । म्याग्दीमा क्रियाशिल नेपाल विद्यार्थी संघ, अनेरास्ववीयु र अनेरास्ववीयु क्रान्तिकारीले चैत ३ गते जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएरै होस्टेललाई नियमन गर्न माग गरेका छन् । अबैध तरिकाले सञ्चालन भैरहेका होस्टेलहरुका कारण शैक्षिक क्षेत्रमा विकृती मौलाएको उनिहरुले संयुक्त रुपमा प्रमुख जिल्ला अधिकारी केशव आचार्यलाई ज्ञापनपत्र बुझाउदै नियमन गर्न माग गरेका हुन् ।
नेविसंघका सभापति भरत रकाल, अनेरास्ववीयुका केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष प्रकाश पौडेल र अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष सुदिन पौडेलले प्रजिअ आचार्यलाई ज्ञापनपत्र बुझाएका थिए । जिल्ला शिक्षा कार्यालयमा दर्ता नगरी र अनुमती नलिईकन होस्टेल सञ्चालन भएको, आधारभुत सेवा, सुबिधा नभएको, कमजोर ब्यवस्थापनका साथै चर्को शूल्क लिने गरिएकाले नियमनका लागि माग गरेको अनेरास्ववीयुका अध्यक्ष प्रकाश पौडेलले बताए ।
विद्यार्थीहरुको ज्ञापनपत्र बुझेपछि प्रजिअ आचार्यले यस विषयमा आफु गम्भिर भएको प्रतिक्रिया दिए । प्रजिअ आचार्यले छात्रावास सञ्चालकहरुलाई बोलाएर कानुनी प्रक्रियामा आउन निर्देशन दिएको पनि प्रशासन स्रोतले जनाएको छ । होस्टेलमा बस्ने एक जना विद्यार्थीले मासिक आठ हजार रुपैयाँ सम्म शूल्क तिर्ने गरेका छन् । खान, बस्नको अतिरिक्त ट्युसन पढेवापत प्रतिविषय एक हजार पाँच सय शुल्क लाग्छ । यो शूल्क सामान्य आर्थिक हैसियत भएका अभिभावकका लागि महँगो हो ।
कतिपय होस्टेलभित्र मदिरा, लागुऔषध सेवन र कुटपिटका घटनाहरु पनि हुने भएकाले सुरक्षामा चुनौती पनि उत्तिकै छ । छात्रावासमा प्रयोग हुने खाद्यान्न, तरकारी र खाजाको गुणस्तरको कसैले वास्ता गरेका छैनन् । उडुस, उपीयाले टोक्ने, लामखुट्टेले सताउने, अध्याँरो कोठामा बस्नुपर्ने बाध्यता रहेको विद्यार्थीहरु बताउँछन् । कोठाभाडामा बस्दा ग्याँस नपाउने र छोटो समय भाडाको कोठा खोज्दा झञ्जट हुने भएकाले महँगो भएपनि होस्टेलमा बस्नुपरेको एशियन होस्टेलमा बस्ने बरंजाका एक विद्यार्थीले बताए ।
कानुनी प्रक्रिया पुरा नगरी छात्रावास सञ्चालन गर्नेमा सामाजिक, शैक्षिक, राजनीतिक लगायत क्षेत्रका प्रतिष्ठित अनुहारहरु छन् । बेनीमा चार वटा होस्टेल छन् । शिक्षामार्गमा रहेको एशिसयन होस्टेल घरजग्गा ब्यापारी तसमान छन्त्याल, शुशिल मल्ल, राजनीतिक कार्यकर्ता ओम छन्त्याल, निजी विद्यालयका शिक्षक हरि छन्त्याल, सामुदायीक विद्यालयका शिक्षक रमेश बोगटी र गणेश छन्त्याल मिलेर चलाएका छन् । कर्मचारी सुमन जुक्जालीका अनुसार विद्यार्थीलाई खान, बस्न, ट्युसन कोचीङका अतिरिक्त अंग्रेजी र कोरीयन भाषाको पढाई हुने उक्त होस्टेलमा अहिले चार सयले ट्युसन पढ्छ्न । त्यही बस्ने विद्यार्थी संख्या ११० जना छ ।
गणेशटोलमा रहेको बरनाथ होस्टेलमा व्यापारी समेत रहेका जिल्ला अस्पतालका कर्मचारी रघुनाथ शर्मा, म्याग्दी बहुमुखी क्याम्पसका प्रध्यापक भोलानाथ घिमीरे लगायतको लगानी छ । उक्त होस्टेलमा म्याग्दी बहुमुखी क्याम्पसको दश जोड दुई र स्नातक तह पढ्ने धेरै विद्यार्थी ट्युसन पढ्छन् । एसएलसी ट्युसन र कोरीयन भाषाको पनि पढाई हुने बरनाथमा ट्युसन पढाउने पनि धेरै म्याग्दी क्याम्पसकै प्रध्यापकहरु छन् ।
२०७० को एसएलसी नतिजाको आधारमा नेपालमै नमुना बनेको बेनी सामुदायिक उच्च माविबाट यस वर्षको एसएलसी परिक्षामा सहभागीता जनाउने विद्यार्थीहरु पनि अबैध होस्टेलमै बसेका छन् । छात्रावास नभएको बेनी सामुदायिकको दश कक्षामा पढ्ने विद्यार्थी उक्त विद्यालयका प्राचार्य दिपक श्रेष्ठको संगमचोक स्थित एक होस्टेलमा बस्छन् । यसअघि जिल्ला शिक्षा कार्यालय रहेको पुरानो घरमा सञ्चालीत ग्लोबल होस्टेल प्राचार्य श्रेष्ठको घरमा सरेको बताइएपनि बोर्ड राखिएको छैन् । त्यहाँ बेनी सामुदायीकका शिक्षकहरुले ट्युसन पढाउँछन् । देशकै नमुना विद्यालयका शिक्षकहरुले नै अबैध होस्टेल खोलेर शिक्षाको व्यापार गरेको शिक्षा विदहरु बताउँछन् ।
बेनी बजारमै रहेको जिल्लाकै पुरानो प्रकाश उच्च माविको पनि अहिलेसम्म छात्रावास छैन् । उक्त विद्यालयको कक्षा दशका विद्यार्थीहरु पनि हिजोआज नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा सभापति समेत रहेका लेखबहादुर हमालले भुपु सैनीक सहकारीको भवनमा सञ्चालन गरेको मदरल्याड होस्टेलमा बस्छन् । हमाल प्रकाश उच्च माविका शिक्षक पनि हुन् । प्रकाश उच्च माविका अतिरिक्त माउन्ट एभरेष्टको उच्च मावि तहका विद्यार्थीहरुले ट्युसन पढ्ने ठाउँ पनि मदरल्याण्डनै हो । मदरल्याण्ड होस्टेलमा माउन्ट र प्रकाश उच्च माविका शिक्षकहरुले ट्युसन पढाउँछन् ।
विद्यार्थीहरुलाई लक्षित गरेर सञ्चालन भएका छात्रावासहरुले एक किसिमको कानुनी हैसियत पनि पाएका छन् । शिक्षा र विद्यार्थीसंग धेरै सम्बन्धित छात्रावासहरु घरेलु तथा साना उद्योग विकास समितिको कार्यालय र आन्तरीक राजस्व कार्यालयमा होटलको रुपमा दर्ता भएका छन् । उनिहरुले शिक्षा सम्बन्धि काम गरेपनि कानुनी हैसीयत होटलको छ । तर छात्रावास सञ्चालकहरु स्पष्ट नीतिगत ब्यवस्था नभएको र शिक्षा कार्यालयमा दर्ता हुन खाजेपनि बेवास्ता गरेको गुनासो गर्छन् । बरनाथ होस्टेलका सञ्चालक रघुनाथ शर्माले शिक्षा कार्यालयबाट छात्रावास, ट्युसन सञ्चालनका लागि अनुमती लिन दुई वर्षअघिदेखि पहल गरेपनि सफल हुन नसकेको र झञ्जट मात्रै पाएको दुखेसो पोखे । शर्मा सरकारी कर्मचारी पनि भएकाले कुनै व्यवसाय गर्दा अनुमति लिनुपर्ने हुन्छ । एशियन होस्टेलका कर्मचारी सुमन जुक्जालीले अघिल्लो वर्ष ट्युसन पढाउन अनुमती लिएको र आगामी वर्षका लागि निवेदन दिएको दावी गरे ।
ब्यवसायिक रुपमा खोलीएका छात्रावासहरुलाई नियमन गरि ब्यवस्थित बनाउन तथा सामुदायिक विद्यालयका विद्यार्थीलाई विद्यालय बाहिरको छात्रावासमा बस्नुपर्ने बाध्यताको अन्त्यका लागि सोही किसीमको आवश्यक पूर्वाधार तयार गर्न जरुरी देखिएको छ । छात्रावास विद्यार्थीको सुबिधा र शैक्षिक गुणस्तर वृद्धीका लागि प्रभावकारी देखिएको अवस्थामा यसलाई ब्यवस्थित र कानुन सम्वत बनाउन सम्बद्ध सबै पक्षले ध्यान दिनुपर्ने आवश्यक छ । नवविकल्प साप्ताहिक अंक २६ मा प्रकाशित