ताजा समाचार:
Search

रिपोर्टर डायरी ः टोड्केलाई पर्यटक गन्तब्य बनाउन पहल(फोटो सहित)

Santosh Gautam Photoसन्तोष गौतम/विकल्प न्यूज ।
म्याग्दी/पहाडको टाकुरामा समथर भुगोल । उत्तर र पुर्वतर्फ लहरै हिमाल । बिहानीमा चम्कीलो प्रकाश छर्दै उदाउने सूर्योदय । बसन्त ऋतुमा ढकमक्क फुल्ने लालीगुराँसको पुष्ठभुमिमा तल हेर्दा देखिने ग्रामिण बस्ती ।

मगर समुदायको बाहूल्य बसोबास भएका गाउँ, परम्परागत कला र संस्कृती, आत्मीय आतिथ्यता, जैविक बिबिधतामा मात्रै सिमित छैन म्याग्दीको मध्य भागमा पर्ने टोड्के । नेपालकै एक प्रसिद्ध धार्मीकस्थल स्वर्गद्धारी आश्रमको शाखाको रुपमा पनि परिचीत टोड्केको एकान्त वातावरण पनि अर्को बिशेषता हो । ओझेलमा परेको टोड्केको सम्भावनाको घुम्टो विस्तारै खुल्दै गएको छ ।Todkey Seam

पर्यटकीय, प्राकृतिक, धार्मीक र सांस्कृतीले भरिपूर्ण टोड्के पुर्वाधार, सुबिधा र प्रचारप्रसारको कमीले ओझेलमा परेको हो । टोड्केलाई पर्यटकीय स्थलको रुपमा विकास गराउन पछिल्लो समय सरोकारवालाको सक्रियता बढेको छ । स्थानीय बासिन्दा, सरकारी निकाय, निजी क्षेत्र र पर्यटन संग सम्बन्धीत संस्थाले टोड्केमा पर्यटक भित्र्याउन पहल गरेका हुन् ।

कुहुँ, झिँ र पात्लेखेत गाविसको सिमा क्षेत्रमा पर्ने टोड्केमा आन्तरीक तथा बाह्य पर्यटक भित्र्याउनका लागि स्थानीय बासीन्दाहरु प्रचारप्रसार र पुर्वाधार निर्माणमा जुटेका छन् । समुद्री सहतदेखि दुई हजार ३८० मिटर उचाईमा अवस्थित टोड्केको पर्यटन विकासका लागि मेला, महोत्सवको माध्यमबाट प्रचारप्रसार भैरहेको छ ।

वि.स २०६५ मा नेपालमै पहिलो पटक गुराँस महोत्सव आयोजना गरेर टोड्केलाई जिल्ला, क्षेत्र, राष्ट्रिय, अन्तराष्ट्रिय स्तरमा परिचित बनाउन सफल स्थानीय बासिन्दा पछिल्लो समय संस्थागत रुपमा टोड्केको विकासका लागि सक्रिय भएका हुन् । झिँ, कुहुँ, पात्लेखेत, बेनपा १२ र पाखापानीका बासिन्दाहरुले वि.स २०६८ मा स्थापना गरेको टोड्के क्षेत्र विकास कोषले पुर्वाधार विकास, प्रचारप्रसारको काम गर्दै आएको छ ।Todke ko Kharau

जिविसको सहयोगमा टोड्केमा दुई कोठे कार्यालय भवन बनाएको संस्थाले पर्यटन कार्यालय पोखराको सहयोगमा पिकनिक स्थल र टहरा निर्माण गरेको छ । पूर्णगाउँ, वाखेत र झिँ हुदै कच्चि सडक पुगेको टोड्केमा खानेपानी र वेतारे ईन्टरनेट सेवा उपलब्ध छ ।

नेपाल सरकारले २०७२ असोज १० गते ३६ औ अन्तराष्ट्रिय पर्यटन दिवसको अवसरमा टोड्केलाई पर्यटकीय स्थल तथा नजिकका पूर्णगाउँ, झिँ र वाखेतलाई होमस्टे गाउँ घोषणा गरेपछि स्थानीयबासीलाई हौसला मिलेको छ । म्याग्दी उद्योग वाणिज्य संघको पहलमा ग्रामिण पर्यटन विकास मञ्च (भिटोभ), पर्यटन वोर्ड, टान लगायतले सम्भाव्यता अध्ययन गरेर तयार पारेको प्रतिवेदनको आधारमा सरकारले पर्यटकीय स्थल घोषणा गरेको म्याग्दी काठमाडौ चौतारीका कोषाध्यक्ष दिनेशनारायाण् श्रेष्ठले जानकारी दिनुभयो ।

पर्यटकीय स्थल र होमस्टे गाउँ घोषणा भएको वर्षनै आन्तरीक तथा बाह्य पर्यटक भित्र्याउन फागुन २५ देखि २९ सम्म दोस्रो टोड्के महोत्सव आयोजना गरेको टोड्के क्षेत्र विकास कोषका उपाध्यक्ष बाबुराम आचार्यले बताउनुभयो । भौगोलिक विकटता र अभावको सामना गर्दै आयोजना भएको महोत्सव टोड्केको प्रचारप्रसारका साथै आन्तरीक पर्यटक भित्र्याउन र सम्भावनाको उजागर गराउन सफल भएको महोत्सव मुल आयोजक समितिका संयोजक समेत रहेका कोषका अध्यक्ष मोहन खत्रीले बताउनुभयो ।Todkey Kos

पाँच दिनसम्म सञ्चालन भएको महोत्सवमा क्षेत्रीय स्तरको पुरुष भलिबल, गाविस स्तरीय महिला भलिबल, लोक दोहोरी गित प्रतियोगिताको साथै स्वर्गद्धारी आश्रम परिसरमा फागुन २७ देखि चैत ७ गतेसम्मका लागि शिवमहापुराणा महायज्ञ सञ्चालन भएको छ । महोत्सव र महायज्ञ सञ्चालन गर्न स्थानीयबासीका साथै प्रवासी र सरकारी निकायले पनि सहयोग गरेका छन् ।

पशुपती शर्मा, लाली बुढाथोकी, मुना थापा लगायत राष्ट्रिय र स्थानीय कलाकारहरुको सांगीतिक प्रस्तुती, झाँकी, कृषि, वन र स्थानीय उत्पादनको प्रर्दशनी रहेको महोत्सवमा सदरमुकाम बेनी, छिमेकी गाविस, पर्वत, बागलुङ, कास्की लगायतका ठाउँबाट आन्तरीक पर्यटक आएको टोड्के क्षेत्र विकास कोषका सचिव टेकबहादुर राम्जालीले जानकारी दिनुभयो ।

समथर भुगोल र एकान्त वातावरणमा अवस्थित टोड्केबाट हिमशृङखला, सुर्योदय, गुरासको जंगल, प्राकृतिक सौन्दर्यता र ग्रामिण बस्तीहरुको अवलोकन गर्न सकिन्छ । गुर्जा, धौलागिरी, मानापाथी, निलगिरी, अन्नपूर्ण, माछापुच्छ्रे लगायत १५ वटा हिमशृङखलाहरुलाई नाङलोको घेराझै नजिकबाट अवलोकन गर्न सकिने टोड्केबाट म्याग्दीका ३८ भन्दा धेरै बस्तीहरु देखिन्छ ।todke gurash photo

बसन्त ऋतुमा पाखाभरी राताम्मे भएर ढकमक्क फुल्ने लालीगुराँस टोड्केको अर्को बिशेषता भएको पुलाचौरका शिव बानियाले बताउनुभयो । टोड्केको प्राकृतिक सौन्दर्यता र मनोरम वातावरणले मोहीत बनाएको बानियाले अनुभव सुनाउनुभयो । टोड्केको धार्मीक महत्व पनि छ । प्युठानको स्वर्गद्धारी आश्रमको शाखा मानिने टोड्केमा स्वर्गद्धारीबाट आएका ऋषीहरुले तपस्या गरेको ईतिहाँस छ ।todke 8

स्वर्गद्धारी महाप्रभु प्युठानबाट आएर केही समय टोड्केमा तपस्या गरेको कुहुँ गाविसका पुर्व गाविस अध्यक्ष प्रेमप्रसाद रेग्मीले बताउनुभयो । उहाँका अनुसार स्वर्गद्धारी महाप्रभुले प्रयोग गरेको खराउ (काठको चप्पल) अझै रहेकाले महाप्रभु टोड्केमा आएको पुष्टि हुन्छ । अहिले पनि स्वर्गद्धारीबाट टोड्केमा ऋषीहरु समय समयमा आउने गरिरहेका छन् ।
धौलागिरी हिमालको फेदीमा रहेको रिखार क्षेत्रमा तपस्या गर्न आउने जाने ऋषिहरुले टोड्केलाई बासस्थानको रुपमा प्रयोग गरेको बुढापाकाको भनाई छ । चारैतिर गुराँसे जंगलले घेरीएको टोड्के क्षेत्रमा पाईने जडिवुटी, वन पैदावर र बन्यजन्तु तथा पंक्षीहरु थप आकर्षण हुन् । चिसो हावापानीमा रासायनीक मल र बिषादीको प्रयोग विनै टोड्के क्षेत्रमा उत्पादन हुने मुला, धजरा र आलुको स्वादले प्रसिद्धी कमाएको छ ।

झिँ र वाखेतमा बसोबास गर्ने मगर समुदायको परम्परागत पुख्यौली नृत्य, सोरठी भाका तथा कुहुँ, पूर्णगाउँ र डडुवाका ब्रह्माण, क्षेत्री समुदायको लोकभजन, संस्कार, संस्कृती, जिवनशैलीले पर्यटकलाई आकर्षीत गर्न सक्ने सम्भावना रहेको महेन्द्र मावि झिँका प्रअ यामबहादुर शेरपुञ्जाले बताउनुभयो । स्थानीय बासिन्दा परम्परा, संस्कार, संस्कृती, भेषभुषाको संरक्षणमा पनि उत्तिकै सक्रिय भएर लागेका छन् ।todke5

फागुन २५ गते टोड्के महोत्सवको उद्घाटन गर्न आएका संस्कृती, पर्यटन तथा नागरीक उड्ययन मन्त्री आनन्दप्रसाद पोख्रेलले टोड्केको पर्यटन सम्भावना उच्च रहेको बताउनुभयो । सडकका कारण पुराना पदमार्ग विस्थापित भैरहेको अवस्थामा टोड्के लगायत धौलागिरीका सम्भावित पर्यटकीय स्थललाई समेटेर वैकल्पीक पदमार्ग र पर्यटकीय स्थल बनाउने योजना रहेको मन्त्री पोख्रेलले जानकारी गराउनुभयो ।

बेनी–पछै–ढोलथान–जगन्नाथ हुदै मालीका मन्दिर जाने धार्मीक पदमार्ग अन्तरगत टोड्के केन्द्रमा पर्छ । जिविसले तयार पारेको म्याग्दीको पर्यटन गुरुयोजनाले पनि टोड्केलाई प्राथमिकता दिएको छ । टोड्केलाई केन्द्र बनाएर मालीका र कुईनेमंगले तर्फबाट धौलागिरी आधार शिवीर जाने पदमार्गको पनि पहिचान भएको छ ।DSC09255

बेनीदेखि राहुघाट नदीको वारी, पारीका बस्तीहरुलाई समेट्ने ‘धौलागिरी सेञ्चुरी’ पदमार्गको नक्सा तयार पार्ने र पदमार्गमा संकेत चिन्नहरु राख्नका लागि पर्यटनविद् डाक्टर प्रेम शर्माको नेतृत्वमा रहेको प्राबिधिक टोलीले स्थलगत अध्ययन सुरु गरेको छक ।

टोड्के महोत्सवको अवसर पारेर स्थलगत अध्ययनमा निस्कीएको टोलीमा पर्यटन वोर्ड, पर्यटन ब्यवसायी, ग्रामिण पर्यटन विकास मञ्च (भिटोभ), म्याग्दी उद्योग वाणिज्य संघ र पत्रकारहरु सहभागि छन् । नक्साङ्कन र संकेत राख्ने काम गरेपछि पर्यटकहरुलाई भ्रमणमा ल्याउन सजिलो हुने म्याग्दी उद्योग वाणिज्य संघका महासचिव राजेश शाक्यले जानकारी दिनुभयो ।

टोड्केको पर्यटन विकासमा जति सम्भावना छ उतिनै चुनौतीका चाङ पनि छन् । पुर्वाधारको अभाव, भएका पुर्वाधारको व्यवस्थीत प्रयोग नहुनु, संरक्षणको अभाव, सुरक्षा, सुबिधा र प्रचारप्रसारको कमी टोड्केको प्रमुख चुनौती हुन् । कच्चि सडक पुगेपनि सुरक्षित र भरपर्दो नुहँदा टोड्केमा अपेक्षाकृत पर्यटक आगमन हुन नसकेको टोड्के क्षेत्र विकास कोषका सदस्य पुस्कर बिकले बताउनुभयो ।

तिन घरपरिवारको बसोबास रहेको टोड्केमा गास, बासको पनि व्यवस्थित सुबिधा छैन् । सामान्य होटल सरहको कम क्षमत्ताको घरमा बास बस्नुपर्ने अवस्था छ । पूर्णगाउँ, झिँ र वाखेतमा होमस्टे (घरबास) सेवा सुरु भएको भनिएपनि पर्यटन कार्यालयमा दर्ता भई अनुमती लिएका छैनन् । ईन्टरनेटको टावर भएपनि नियमित सुबिधा छैन् । टोड्केमा सामुदायीक लज स्थापना र होमस्टेलाई बैधानिकता दिनुपर्ने प्रमुख आवश्यकता रहेको सदस्य बिकले बताउनुभयो ।

टोड्के पुग्ने पदमार्ग र सडकलाई व्यवस्थित, नियमित, सुरक्षित र भरपर्दो बनाउनुपर्ने देखिन्छ । जापानी नागरीकले टोड्केबाट दृष्य अवलोकनका लागि उपलब्ध गराएको अत्याधुनिक दुरबिनको नियमित प्रयोग हुन सकेको छैन् । नजिकै प्रहरी चौकी नभएको र यस अघि पनि पटक पटक टोड्केका बासिन्दाको घरमा चोरी भएकाले सुरक्षाको चुनौति पनि रहेको छ ।
गुराँसको जंगल संरक्षण गर्न र स्थानीय बासीन्दालाई आधारभुत होटल, होमस्टे तथा पर्यटकलाई स्वागत सत्कार तथा उनिहरुलाई गर्ने ब्यवहारका विषयमा तालीम दिन आवश्यक छ ।

todke

म्याग्दीका सांसद नवराज शर्मा जिल्ला पर्यटन गुरुयोजनालाई समय सापेक्ष परिमार्जीत गरि टोड्के लगायतका सम्भाब्य पर्यटकीय स्थलमा पुर्वाधार विकासमा लगानी बढाउनुपर्ने बताउनुहुन्छ । ‘धेरै योजना बनाएर थोरै, थोरै बजेट बाडेर पुर्वाधार विकास हुदैन’ शर्माले भन्नुभयो ‘प्राथमिकतामा परेका निश्चित योजनालाई पर्याप्त लगानी गरि सम्पन्न गरेपछि मात्र अर्को योजनामा हात हाल्दा सफल भईन्छ ।’

म्याग्दीको पर्यटकीय सम्भावनाको बारेमा अध्ययन गरेका पर्यटनबिद् डाक्टर प्रेम शर्माको भनाईमा टोड्केको पर्यटन विकासका लागि अहिलेसम्म प्रर्वद्धनात्मक गतिबिधि भएपनि पुर्वाधार निर्माणमा ध्यान पुग्न सकेको छैन् । ‘प्रचार गरेर मात्र पर्यटक आउँदैनन । पर्यटक बोलाउनु भन्दा अघि समुदाय सक्षम र सुबिधा तयार हुनुप¥यो’ शर्माले भन्नुभयो ‘टोड्के पुग्ने व्यवस्थित पदमार्ग, सुरक्षित सडक र त्यहाँ खानेबस्ने सुबिधाको ब्यवस्था गर्नुपर्छ ।’ नवविकल्प साप्ताहिक अंक २५ फागुन ३० गते आइतवार प्रकाशित