सदरमुकाम बेनीमा संचालित मुक्तिनाथ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले गत आर्थिक वर्षमा ३१ करोड ६० लाख ४६ हजार ८ सय ५३ रुपैयाँ लगानी गरेको जनाएको छ ।
कोरोना महामारीका कारण स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर शनिबार सम्पन्न गरिएको १३ औं वार्षिक साधारणसभामा सहकारीले कोरोना संकटका विच पनि अघिल्लो आर्थिक वर्ष भन्दा ५१ प्रतिशतले लगानी वृद्धि गरेको अध्यक्ष लिलाराम गौतमले जानकारी दिनुभयो । यसैगरी सहकारीले बचत रकममा पनि वृद्धि गरेको जनाएको छ ।
अघिल्लो आर्थिक वर्षको तुलनामा २० प्रतिशतले बचत संकलन गर्न सहकारी सफल भएको अध्यक्ष गौतमले जानकारी दिनुभयो । गत आर्थिक वर्षमा सहकारीले २८ करोड १७ लाख २३ हजार एकसय २६ रुपैयाँ बचत संकलन गरेको जनाएको छ । कोरोना संकटका विच पनि सहकारीले आर्थिक कारोवारलाई वृद्धि गर्न सफल भएको अध्यक्ष गौतमले बताउनुभयो ।
सहकारीले शेयर पुँजीलाई पनि उल्लेख्य वृद्धि गरी ४ करोड १८ लाख ६३ हजार पु¥याएको छ ।
कोरोना महामारीका कारण समस्यामा परेका ऋणीहरुको व्याजमा ५ प्रतिशत छुट गरेको साधारणसभामा जानकारी दिइएको थियो । लकडाउनमा पनि सेयर सदस्यहरुलाई आवश्यक परेको समयमा सेवा प्रदान गरिएको सहकारीले जनाएको छ । कोरोना महामारीका कारण सहकारीले दुई चरणमा आयोजना गरिएको साधारणसभामा ८४ वर्ष पार गर्नुभएकी शेयर सदस्य लोकनाथ रेग्मीकी आमा मनकुमारी रेग्मी र घनश्याम पौडेलकी आमा पार्वती पौडेललाई सहकारीले दोसल्ला,नगद र प्रमाणपत्र प्रदान गरेर सम्मान गरेको थियो ।
साधारणसभामा सहकारीका सल्लाहकार तथा पूर्व अध्यक्ष शेरबहादुर केसीले कोरोना महामारीका विच पनि सहकारीको लगानी राम्रो भएको बताउनुभयो । उहाँले सेयर सदस्यहरुको समुह बनाएर उत्पादनमुलक क्षेत्रमा लगानी गर्ने योजना ल्याउन सुझाव दिनुभयो ।
अध्यक्ष गौतमले संस्थाको आगमी योजना सहितको बार्षिक प्रतिवेदन,सचिव डण्डपाणी पराजुलीले प्रगती, कोषाध्यक्ष चिरञ्जीवी बोगटी आर्थिक, लेखा समिति संयोजक नारायणप्रसाद सुवेदीले लेखाप्रतिवेदन र शिक्षा उपसमिति दण्डपाण्ी सापकोटाले शिक्षा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । २०६५ सालमा स्थापना भएको सहकारीको हाल एकसय ७७ जना शेयर सदस्यहरु रहेका छन् ।