नेकपा म्याग्दीद्धारा फगामका पहिरो पीडितलाई राहत वितरण

विकल्प न्यूज/बेनी
भदौं १९ गते ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीले जिल्लाको अन्नपूर्ण गाउँपालिका–३ दाना स्थित फगामका पहिरो पीडितलाई राहत सहयोग गरेको छ । कालिगण्डकी नदीको कटान र बेनी–जोमसोम कोरला सडकको कारण भुमिगत पहिराले उच्च जोखिममा परेका २२ घरपरिवारलाई नेकपाले राहत वितरण गरेको हो ।

जिल्लामा आइपरेको बाढी र पहिरोबाट पीडित भएकाहरुको लागि पार्टीका नेता तथा कार्यकर्ताहरुबाट सहयोग संकलन गरि फगामका २२ घरपरिवारलाई रु ४ हजारका दरले ८८ हजार राहत उपलब्ध गराईएको नेकपा म्याग्दीका सचिब हरिकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । कोरोनाको जोखिमलाई मध्यनजर गर्दै सिमित व्यक्तिहरुमात्रै पहिरोको कारण घरबार विहिन हुन पुगेकाहरु विस्थापित भएर बसेको ठाउँमा पुगेर राहत वितरण गरिएको नेकपाले जनाएको छ ।

नेकपा म्याग्दीका इन्चार्ज एवम् प्रतिनिधि सभा सदस्य भुपेन्द्रबहादुर थापा, पार्टी सचिब श्रेष्ठ, प्रदेश सभा सदस्य विनोद केसी, जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसी, नेकपा अन्नपूर्ण गाउँपालिका कमिटिका अध्यक्ष खड्ग गिरी लगायतले स्थानीय वडाका जनप्रतिनिधको रोहोवरमा पहिरो पीडितहरुलाई राहत वितरण गर्नुृभएको हो ।

पहिरो स्थलको अवलोकन गर्दै प्रतिनिधि सभा सदस्य थापाले बस्ती नै पहिरोको उच्च जोखिममा रहेकाले उनीहरुलाई पुर्नस्थापनाको लागि स्थानीय वडा र पालिकाले जग्गा व्यवस्थापन गरे संघिय सरकार मार्फत आवास पुननिर्माणमा पहल गर्ने बताउनुभयो । ‘‘ यहाँको अधिकाँश जमिन चिराचिरा परेको रहेछ, धेरैले घर छाडेर अन्यत्र जानुभएको पाइयो, यो बर्ष सरकारले ४ सय वटा जोखिमपूर्ण बस्तीलाई सार्ने योजना अघि सारेको छ, त्यस कार्यक्रममा फगामलाई समेट्न अधिक प्रयास रहन्छ,’’– थापाले भन्नुभयो ।

त्यसैगरि प्रदेश सभा सदस्य केसी र जिसस प्रमुख केसीले पहिरोको जोखिममा रात विताउँदै आएका स्थानीयलाई सुरक्षित स्थानमा आश्रय लिन आग्रह गर्दै सबै क्षेत्रको रचनात्मक सहयोग र सहकार्यले बस्तीलाई सुरक्षित स्थानमा सार्न आबश्यक पहल गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।

वडा अध्यक्ष नरसिंह बहादुर पुर्जाका अनुसार, फगाममा रहेका ७४ घरमध्ये अधिकाँश पहिरोको चपेटामा परेका छन् । बस्तीदेखि तलबाट भुमिगत रुपमा चलेको पहिरो गाउँको शिरमा रहेको भिरसम्मै पुगेको र जमिन फाट्ने र घर चिरिने समस्या बढीरहेकाले फगामलाई स्थानान्तरणको लागि आबश्यक तयारी सुरु भएको उहाँले जानकारी दिनुभयो ।

स्थानीयबासी दुर्गादक्त सुुवेदीका अनुसार, पहिरोको कारण फगाममा रहेका ७४ घरधुरीमध्ये १७ घर विस्थापित, ९ घर उच्च जोखिममा र ३८ घरमा सामान्य क्षति पुगेको छ ।