सडकमा नाली नहुँदा जलजला ७ गुन्टेखेतको वस्ती र विद्यालय पहिरोको जोखिममा

विकल्प न्यूज/जलजला
असार २२ गते ।  निर्माणधिन मिलनचोक– सल्यान– गुन्टेखेत,धारापानी सडकमा ठेकेदारले नालीको उचित व्यवस्था नगरेका कारण जलजला ७ गुन्टेखेतको वस्ती र विद्यालय पहिरोको जोखिममा परेको छ ।

सडक खन्दा नाली व्यवस्था र ग्यावियन झाली नहालेका कारण वर्षातका समयमा आउने पानीले पहिरोको जोखिम बढाएको हो । सोमबार आएको अविरल वर्षाका कारण सडक माथिबाट पहिरो खस्न थालेको र गुन्टेखेतका ७ घर र सरस्वती आधारभूत विद्यालय पहिरोको उच्च जोखिममा परेको स्थानीय युवा राज आचार्यले बताउनुभयो ।

सडक निर्माण गर्दा ठेकेदारले सडकमा नाली र सडकको दुर्व तर्फ ग्यावियन झाली नलगाएका कारण वर्षातका समयमा सडकमा भल बगेकाले वस्ती जोखिममा परेको उहाँले बताउनुभयो । पहिरोका कारण स्थानीय बालकृष्ण आचार्य,गंगाधर शर्मा,गोपाल जैसी, श्रीकृष्ण आचार्य, कुलप्रसाद आचार्य ,जुठे परियार र खेमलाल जैसी घर जोखिममा परेको आचार्यले जानकारी दिनुभयो । पहिरो आउने खतराका कारण स्थानीयहरु रातभर जाग्राम समेत वस्ने गरेको उहाँले बताउनुभयो । पहिरोका कारण विद्यालय भत्किने खतरा बढेको छ । तत्काल सडकमा उचित नाली र ग्याविनको व्यवस्था गर्न सकिए विद्यालय र वस्ती जोगाउन सकिने आचार्यको भनाई छ ।