ताजा समाचार:
Search

कारोवार सुरु गरेको छोटो अवधि मै शालीग्राम लघुवित्तको डेढकरोड भन्दा वढी लगानी

विकल्प न्यूज/बेनी
पुस १५ गते ।
म्याग्दी सदरमुकाम बेनीमा केन्द्रिय कार्यालय रहेको शालीग्राम लघुवित्त वित्तीय संस्थाले विभिन्न ६ स्थानमा आफ्नो सेवा विस्तार गरेको छ । नेपाल राष्ट्र बैँकको बैँक तथा वित्तीय संस्था नियमन विभागबाट घ बर्गको विक्तिय कारोवारको अनुमती लिएर गत भदौदेखि गण्डकी प्रदेश स्तरको वित्तीय संस्थाको रुपमा स्थापना भएको यस संस्थाले छोटो अवधिमै आफ्नो सेवालाई विस्तार गरेको हो ।

यस लघुवित्तले म्याग्दी सदरमुकाम बेनी स्थित मंगलाघाटको केन्द्रिय कार्यालय संगै पर्वतको जलजला गाउँपालिका, कास्कीको लाहाचोक, तनहुको खैरेनीटार, पूर्वी नवलपरको प्रगतीनगर र शर्दीमा शाखा विस्तार गरि वित्तिय कारोबार गर्न थालेको हो । मंगलवार बेनीमा पत्रकार सम्मेलन गरि संस्थाले सेवा विस्तारबारे जानकारी गराएको हो ।

कार्यक्रममा लघुवित्तका अध्यक्ष कृष्णबहादुर थापाले मंसीर मसान्तसम्म संस्थाले विभिन्न ३५ वटा केन्द्र, ६२ वटा समूहका सदस्यहरुलाई रु १ करोड ६५ लाख ३७ हजार लगानी गरेको जानकारी दिनुभयो । यस संस्थाको रु २ करोड ५१ लाख चुक्ता पूँजी रहेको छ । उहाँका अनुसार,

सदस्यहरुबाट २६ लाख ८३ हजार निक्षेप संकलन समेत गरिएको छ । समुह जमानीमा ऋण लगानी गर्ने यस लघुवित्तले कृषि लगायतका उत्पादनशिल क्षेत्रलाई प्राथमिकता दिएर लगानी गरेको जनाएको छ ।

निक्षेप बचतको ७ प्रतिशत व्याज दिने गरेको यस लघुवित्तले २ देखि ४० जना सम्मको समुह निर्माण गरि समुह जमानीको आधारमा समुहका सदस्यलाई १८ प्रतिशत व्याजदरमा प्रतिव्यक्ति ३ लाख सम्म ऋण लगानी गर्ने गरेको प्रमुख कार्यकारी अधिकृत मनोज प्रसाद निरौलाले बताउनुभयो ।

म्याग्दी जिल्लाका शिक्षक, व्यवसायि, उद्यमी, निर्माण व्यवसायि लगायत मिलेर स्थापना गरेको शालीग्रामी लघुवित्त संस्था म्याग्दी जिल्लामै स्थापना गरिएको पहिलो लघुविक्त रहेको संस्थाले जनाएको छ । लगानीलाई उत्पादनशिल क्षेत्र र सुरक्षित ठाउँमा केन्द्रित गर्न जोड दिईएको संस्थाका सञ्चालक ज्ञानेन्द्र प्रसाद सुवेदीले बताउनुभयो । सिमान्तकृत, महिला, दलित, आदिवासी, मधेशी तथा जनजातीहरुलाई विक्तिय पहुँच विस्तारको लागि संस्थाले लगानी केन्द्रित गर्ने जनाएको छ ।