ताजा समाचार:
Search

किसानको आवश्यकता अनुसार पशुसेवाका कार्यक्रमहरु बनाउन सुझाव

विकल्प न्यूज/बेनी
पुस १५ गते । किसानका आवश्यकता अनुसार पशुसेवाका कार्यक्रमहरु बनाउन सरोकारवालाहरुले सुझाव दिएका छन् । भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले बेनीमा गरेको स्थानीय तह सँग समन्वय वैठकमा जनप्रतिनिधिहरुले चालु आर्थिक वर्षमा पशुसेवाका कार्यक्रमहरु व्यवहारिक नभएको गुनासो गरेका छन् ।

व्यवहारिकतालाई हेरेर पशुसेवाका कार्यक्रमहरु तर्जुमा गर्न उनीहरुको सुझाव छ । कार्यक्रमहरु बनाउदा किसानहरुको आवश्यकता र क्षमतालाई आधार बनाउन जनप्रतिनिधिहरुले सुझाव दिएका छन् । कतिपय कार्यक्रमको प्रकृति हेर्दा जिल्लामा मेल नखानेखालका देखिएकाले कार्यक्रमलाई किसान मैत्री बनाउन कार्यालयले आगमी दिनमा सुधार गर्नुपर्ने जनप्रतिनिधिहरुको सुझाव छ ।

जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र बहादुर केसीले स्थानीय तहसँगको समन्वय र सहकार्यबाट कार्यक्रम लैजान सुझाव दिनुभयो । उहाँले चालु आर्थिक वर्षमा विनियोजन भएका कार्यक्रमहरु व्यवहारिकखालका नभएकाले आगमी दिनमा स्थानीय तह सँगको सहकार्यमा कार्यक्रमहरु बनाउन उहाँले जोड दिनुभयो । चालु आर्थिक वर्षमा विनियोजन भएका कार्यक्रमहरुलाई प्रभावकारी रुपमा कार्यान्वनय गर्न स्थानीय तह सँगको सहकार्यलाई प्रमुख केसीले जोड दिनुभयो । धौलागिरि,मंगला र मालिका गाउँपालिकाका अध्यक्षहरु थमसरा पुन,सतप्रसाद रोका र श्रीप्रसाद रोकामगरले स्थानीय तहसँग सुझावहरु लिएर कार्यक्रम बनाउनुपर्ने बताउनुभयो । स्थानीय तहले बनाएका कार्यक्रम र विज्ञ केन्द्रले बनाउने कार्यक्रम विच तालमेल मिलाउनुपर्ने उहाँहरुको भनाई थियो ।

वैठकमा प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले स्थानीय स्तरका कृषकहरुको आवश्यकता अनुसारका कार्यक्रम बनाउन सुझाव दिनुभयो । वैठकमा भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रमुख नारायण कुसुमले चालु आर्थिक वर्षमा जिल्लामा हुने पशुसेवाका कार्यक्रमहरुका वारेमा जानकारी गराउनुभएको थियो । पशुसेवाका कार्यक्रमहरु सञ्चालन गर्न जिल्लामा चालु आर्थिक वर्षमा तिन करोड १३ लाख ८० हजार रुपैयाँ बजेट विनियोजन भएको केन्द्र प्रमुख कुसुमले बताउनुभयो ।

म्याग्दी र मुस्ताङ गरी १५ वटा नमुना फार्म स्थापना गर्नका लागि प्रतिफार्म ८ लाख रुपैयाँ अनुदान उपलब्ध गराउन एककरोड २० लाख रुपैयाँ बजेट प्राप्त भएको बताउनुभयो ।

नमुना फार्मका लागि एकसय ४३ वटा निवेदनहरु प्राप्त भएको र छनौटको प्रक्रियामा रहेको उहाँले जानकारी दिनुभयो । आगमी आर्थिक वर्षका लागि योजना तर्जुमा गर्दा स्थानीय तहका जनप्रतिनिधि,किसान र अन्य सरोकारवालाहरु सुझावहरु लिएर कार्यक्रम बनाउने केन्द्र प्रमुख कुसुमले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

बेनी नगरपालिका सहित पाँचवटै गाउँपालिकाका अध्यक्ष,उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत लगायत उपस्थिति रहेको वैठकको सञ्चालन पशुसेवा विज्ञ केन्द्रका पशु स्वास्थ्य प्राविधिक सुवाष रेग्मीले गर्नुभएको थियो ।