मुक्तिनाथ सहकारीको स्थापना दिवसमा ज्येष्ठ नागरिक आश्रमलाई सहयोग

विकल्प न्यूज/बेनी
मंसिर २९ गते । बेनी बजारमा रहेको मुक्तिनाथ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले १२ औं स्थापना तथा दशौं हिरा स्मृति दिवसका अवसरमा ज्येष्ठ नागरिक आश्रमलाई सहयोग गरेको छ । गलेश्वर स्थित ज्येष्ठ नागरिक आश्रमलाई सहकारीले आइतवार १६ हजार रुपैयाँ बराबरको चामल,दाल लगायत खाद्यान्न सहयोग गरेको सहकारीका अध्यक्ष लिलाराम गौतमले जानकारी दिनुभयो ।संस्थाका उपाध्यक्ष डण्डपानी सापकोटा, सचिव दण्डपाणी पराजुली र जेष्ठ नागरिक आश्रमका भिमनाथ पराजुलीको उपस्थिति रहेको कार्यक्रममा संस्थापक अध्यक्ष केसीकी धर्मपत्नी देवी केसीले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

सहकारीले संस्थापक अध्यक्ष केसीको स्मृतिमा स्थापना गरेको एक लाख रुपैयाँको अक्षयकोषलाई बढाएर गत वर्ष दुई लाख रुपैयाँ बनाएको थियो । संस्थाको स्थापना दिवसका अवसरमा शेयर सदस्यहरुलाई अनिबार्य बचत खाला खोल्ने निर्णय समेत गरेको अध्यक्ष गौतमले जानकारी दिनुभयो ।