ताजा समाचार:
Search

एनआईसी एशिया वैंकद्धरा गौमहोत्सवलाई एकलाख पाँचहजार सहयोग

विकल्प न्यूज\बेनी
मंसिर २६ गते ।  एनआइसी एशिया पर्वत बेनी शाखाले जलजलामा आयोजित गौमहोत्सवलाई एकलाख पाँचहजार पाँचसय ५५ रुपियाँ सहयोग गरेको छ । गण्डकी गोपाल गौशाला धाइरिङले जलजलाको मिलनचोकमा आयोजना गरेको गोरक्षा धनधान्याचल विराट् ज्ञानमहायज्ञ एवं गौमहोत्सवको छैटौं दिन बैंकका शाखा प्रबन्धक तुलसीराम आचार्यले गौशालाको विकासका लागि उक्त सहयोग हस्तान्तरण गर्नुभएको हो ।

गौशालामा भौतिक पूर्वाधार निर्माण गरी धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्ने पवित्र उद्देश्य राखी आयोजना गरिएको गौमहोत्सवलाई बैंकको तर्फबाट उक्त सहयोग गरिएको शाखा प्रबन्धक आचार्यले बताउनुभयो । पर्वत बेनीमा शाखा सञ्चालनमा आएपछि आर्थिक कारोवारका साथै बैकले सामाजिक क्षेत्रमा पनि सहयोग गर्दै आएको छ । गौमहोत्सवको राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मंसिर १९ गते उद्घाटन गर्नुभएको थियो । महोत्सव मंसिर २७ गते सम्म सञ्चालन हुने आयोजकले जनाएका छन् ।

गौशालालाई धार्मिक पर्यटनको केन्द्रका रुपमा विकास गर्ने लक्ष्य सहित नेपालमै पहिलो पटक गौमहोत्सवको आयोजना गरिएको महोत्सव मुल आयोजक समितिका महासचिव जगन्नाथ आचार्यले बताउनुभयो । गण्डकी गोपाल गौशालाको सुदृढिकरण र गाई संरक्षण संगै प्रसिद्ध कालञ्जर क्षेत्रको विकास र प्रचार प्रसारको लागि कालञ्जर पर्वतको फेदी र कालिगण्डकी नदीको किनारमा रहेको मिलनचोकमा गौमहोत्सव एव् महायज्ञ आयोजना गरिएको मुल आयोजक समितिका अध्यक्ष राजु आचार्यले जानकारी दिनुभयो ।

महायज्ञ एवम् महोत्सवबाट संकलन हुने रकमबाट गौशालाको थप पूर्वाधार निर्माण र स्थानीय जातका गाईको बंश संरक्षण गरिनेछ । महोत्सवमा स्वामी कमलनयन आचार्य,सुदर्शन बराल लगायत पण्डितहरुले धार्मिक प्रवचन गरिरहनुभएको छ । प्रत्येक दिन साझपख गंगा आरती र बेलुका भजनकृतन गरिएको छ । महोत्सवमा भक्तजनहरुको बाक्लो उपस्थिति रहेको छ ।

स्वामी आचार्यको संकल्प र स्थानीयको सक्रियतामा वि.स २०७२ मा धाइरीङमा गण्डकी गोपाल गौशाला स्थापना गरिएको थियो । अहिले यस गौशालामा ३५ वटा गाई रहेका छन् ।