गौमहोत्सवले हिन्दु धर्मको रक्षाका लागि आशा जगायो ः सभापति देउवा

विकल्प न्यूज/बेनी
मंसिर २२ गते । पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले हिन्दु धर्म र सस्कृति संकटमा परेको बताउनुभएको छ । आइतवार पर्वतको जलजलामा आयोजित धार्मिक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले हिन्दु धर्म,संस्कार,सस्कृति र परम्परा जोगाउनलाई सवैजना जुटन उहाँले आग्रह गर्नुभयो ।

गण्डकी गोपाल गौशालाले आयोजना गरेको विराट ज्ञानमहायज्ञ तथा गौमहोत्सवको चौथो दिन महोत्सव अवलोकन गर्न आउनुभएका सभापति देउवाले धर्मको रक्षा र वैदिक गाईको संरक्षणका लागि सञ्चालन गरेको गौमहोत्सवले देशभरका हिन्दुहरुलाई नयाँ आशा जगाएको बताउनुभयो । अत्यन्तै छोटो समय बोल्नुभएका सभापति देउवाले गौशालामा भौतिक पूर्वाधार निर्माण गर्न र यसलाई धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्न आफूले सरकार सँग माग गर्ने बताउनुभयो ।

यसै गरी नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवम सविधानसभाका पूर्व सदस्य अर्जुनप्रसाद जोसीले जलजला,कालाञ्जर र गौशालाको विकासका लागि आयोजना गरिएको महोत्सवले हिन्दु धर्मालम्बीहरुलाई एक ठाउँमा ल्याएको बताउनुभयो । उहाँले हिन्दु धर्मको रक्षा र संरक्षणका लागि एकताबद्ध भएर जुट्न आग्रह समेत गर्नुभयो । उहाँले जलजला क्षेत्र धार्मिक पर्यटनको केन्द्र बनाउन सकिने भएकाले गाउँपालिकाले ठोस योजना बनाउनुपर्ने बताउनुभयो । जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लले जलजला क्षेत्रको विकासका लागि गुरुयोजना बनाउन लागिएको बताउनुभयो । गण्डकी गोपाल गौशालामा भौतिक पूर्वाधार निर्माण गरी धार्मिक पर्यटनको केन्द्र बनाउनका लागि गाउँपालिकाको तर्फबाट चालिख लाख रुपैयाँ बराबरको भौतिक पूर्वाधार निर्माणमा सहयोग गर्ने प्रतिबद्धता समेत उहाँले व्यक्त गर्नुृभयो ।

महोत्सव मुल आयोजक समितिका अध्यक्ष राजुप्रसाद आचार्य लगायत समितिका पदाधिकारीहरुले सभापति देउवालाई स्वागत गरेका थिए । सभापति देउवालाई बाजागाजा,भजनकृतन सहित महोत्सव स्थलमा भव्य स्वागत गरिएको थियो ।