नव कालिगण्डकी सहकारीको पाँचकरोड लगानी

विकल्प न्यूज/जलजला
कार्तिक १६ गते ।
उत्तरी पर्वतको जलजला गाउँपालिका ३ पर्वत बेनीमा सञ्चालित नव कालिगण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले कृषि,पशुपालन,शैक्षिक,गृह निर्माण,व्यापारिक र वैदेशिक क्षेत्र गरी पाँचकरोड रुपियाँ लगानी गरेको छ ।

शनिबार पर्वत बेनीमा आयोजित सहकारीको १४ औं वार्षिक साधारणसभामा संस्थाले गत आर्थिक वर्ष २०७५ र ०७६ मा पाँच करोड एक लाख ४० हजार दुइसय ८७ रुपियाँ ऋण लगानी गरेको जानकारी गराइएको थियो ।
जलजला गाउँपालिकालाई कार्यक्षेत्र बनाएर २०६३ मा स्थापना भएको सहकारीमा एकसय ३२ जना शेयर सदस्यहरु छन्।
सहकारीको शेयर पुँजी एक करोड ६६ लाख ३१ हजार ९ सय रुपियाँ रहेको छ भने निक्षेप पाँच करोड ४६ लाख ६६ हजार तिन सय २१ रुपियाँ रहेको छ । गत आर्थिक वर्षमा करिब सात करोड २८ लाख रुपियाँ बरावरको आर्थिक कारोवार गरेको सहकारीको प्रगति प्रतिवेदनमा उल्लेख गरिएको छ ।

साधारणसभाको उद्घाटन गर्दै प्रमुख अतिथि सहकारीका संस्थापक अध्यक्ष एवम् जलजला गाउँपालिका ४ नम्बर वडाका वडाअध्यक्ष भिष्म मल्लले सहकारीले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर ऋण लगानी गर्नुपर्ने बताउनुभयो ।

जलजला गाउँपालिका कृषि र पशुपालनमा राम्रो संभावना भएकाले सहकारीहरुले ऋण लगानी गर्दा यिनै क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने विचार व्यक्त गर्नुभयो । नाफा कमाउन मात्र नभएर सामाजिक सेवाका क्षेत्रमा पनि सहकारीले लगानी गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

यसै गरी साधारणसभामा वडा नम्बर ३ का अध्यक्ष देबेन्द्रबहादुर भण्डारीले रोजगारी सिर्जना हुने क्षेत्रमा लगानी गर्न अनुरोध गर्नुभयो । सहकारीको माध्यमले समाजमा आर्थिक तथा सामाजिक विकास गर्न सकिने भएकाले उत्पादनशिल क्षेत्रमा सहकारीले लगानी बढाउनुपर्ने उहाँले सुझाव दिनुभयो ।

कार्यक्रमा वडा नम्बर ५ का वडाअध्यक्ष तिलब बहादुर जिसी, सहकारीका संस्थापक सचिव लोकनाथ रेग्मी,कानुनी सल्लाहकार सुदर्शनकुमार श्रेष्ठ,जलजला सहकारी सञ्जालका सचिव नविन जिसी र शेयर सदस्यहरुका तर्फबाट टिकानाथ पौडेलले सहकारीले आर्थिक विकासमा योगदान पु¥याउन कृषि,पर्यटन र व्यापारिक क्षेत्रमा लगानी वृद्धि गर्नुपर्नेमा जोड दिएका थिए ।

साधारणसभामा संस्थाका अध्यक्ष डिलबहादुर बरुवालले संस्थाको बार्षिक प्रतिवेदन,सचिव ठाकुरप्रसाद रेग्मीले प्रगति प्रतिवेदन,कोषाध्यक्ष चित्रलाल रेग्मीले आर्थिक प्रतिवेदन र लेखा संयोजक शेषराज रेग्मीले संस्थाको लेखाप्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

संस्थाका अध्यक्ष बरुवालको अध्यक्षता,उपाध्यक्ष चित्रबहादुर घर्ती क्षेत्रीको स्वागत र सचिव ठाकुरप्रसाद रेग्मीको सञ्चालनमा उद्घाटन सत्र सम्पन्न भएको थियो । बन्दसत्रले साधारणसभामा प्रस्तुत भएका प्रतिवेदनहरु पास गरेको सचिव रेग्मीले जानकारी दिनुभयो ।

साथै साधारणसभा उपयुक्त प्रस्ताव आएमा अन्य सहकारीसँग मर्जरमा जान सक्ने वारेमा पनि छलफल भएको उहाँले जानकारी दिनुभयो ।