अतिक्रमण गरिएका सार्वजनिक जग्गा खोज्दै जलजला

विकल्प न्यूज/बेनी
भदौं १७ गते । पर्वतको उत्तरी जलजला गाउँपालिकाले गाउँपालिका भित्र रहेका सार्वजनिक जग्गाको खोजी गर्न थालेको छ । जिल्ला नापी कार्यालयको प्राविधिक सहयोगमा अतिक्रमण गरिएका सार्वजनिक जग्गाको पहिचान र व्यवस्थापन गर्न थालेको हो ।
अतिक्रमित सार्वजनिक जग्गाको पहिचान गर्ने र त्यस्ता जग्गालाई गाउँपालिकाको मातहत ल्याउनका लागि गाउँपालिकाले अभियान थालेको प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बताउनुभयो ।

वडा नम्बर ४ का अध्यक्ष तथा गाउँपालिकाको वन वातावरण तथा विपद व्यवस्थापन समितिका संयोजक भिष्म मल्लको संयोजकत्वमा सम्बन्धित वडाका वडा अध्यक्ष पदेन सदस्य हुने र सदस्य सचिव सामाजिक विकास अधिकृत श्री लिलाधर सुवेदी रहने गरी समिति गठन गरेको छ ।

समितिले पहिलो चरणमा गाउँपालिकाको वडा नं ३ ४ ७ र ८ गरी जम्मा ४ वटा वडाको वेनी मालढुंगा सडक खण्ड आसपास सार्वजनिक जग्गाको पहिचान गर्ने कार्य सम्पन्न गरेको समितिका संयोजक भिष्म मल्लले जानकारी दिनुभयो ।
यी वडाहरुमा सरकारी जग्गा तिनसय ८८ वटा कित्ता रहेको र क्षेत्रफल १५ हजार २८२ रोपनी जग्गा रहेको र उक्त जग्गा हालसम्म ब्यक्तिले आवासको लागि पक्की घर निर्माण गर्नुको साथै खेतीवाली लगाई उपयोग गर्दै आएको भेटिएको संयोजक मल्लले बताउनुभयो ।

दोस्रो अभियान अन्तर्गत जग्गालाई कानुन बमोजिम करको दायरामा ल्याई सरकारी जग्गाको संरक्षण गर्ने सोच अनुरुप यहि भाद्र महिनादेखि समितिले अभियानको रुपमा गाउापालिकाका सवै वडाहरुमा जाने गाउँपालिकाका सामाजिक विकास अधिकृत श्री लिलाधार सुवेदीले जानकारी दिनुभयो ।