सरोज आचार्य/ यलु जोशी
‘पितृदेवो भव’ अर्थात् पितालाई देवता समान मान्ने धार्मिक मान्यताका आधारमा शुक्रबार छोराछोरीले पितालाई विशेष सम्मान गर्छन् । भाद्र कृष्ण औँसीका दिन जन्म दिने बाबु वा धर्मपुत्र बनाएका सन्तानले स्वास्थ्य अनुकूलको मिठाई, फलफूल, वस्त्र तथा सक्नेले मणि माणिक्य प्रदान गरेर बाबुको अनुहार हेर्ने गरिन्छ ।
दिवङ्गत पिताप्रति पनि यसै दिन गोकर्णेश्वरमा श्राद्ध तर्पण दान आदि गरेर बाबुको सम्झना गर्ने प्रचलन छ । तर समाजको दिनचर्या र आधुनिक युगसँगै आमाबुवालाई सम्झिने परम्परा पनि फेरिएको छ । आमाबुवालाई छाडेर विदेश हिँडेका तथा थातथलो छाडेर जागिरका लागि बाहिर रहेका छोराछोरीले सामाजिक सञ्जालमार्फत तथा भिडियो कन्फरेन्समार्फत आमाबुवाको मुख हेर्ने प्रचलन बढ्दै गएको छ । सहरिया जीवनका कारण आमाबुवा गाउँमा एक्लिँदै गएको अवस्था झन् दर्दनाक छ ।
ललितपुर लामाटारका रामकुमार श्रेष्ठ यस्तै एक जना पिता हुनुुहुन्छ, जसको छोराछोरी टाढिएको चार वर्ष बितिसकेको छ । भोलि बुवालाई खुवाउने औँसीको दिन भएको हुनाले छोराछोरीको निकै सम्झना आइरहेको सम्झँदै उहाँले भन्नुभयो, चार वर्ष भयो भेट नभएको आज निकै याद आइरहेको छ ।’ छोरा डेनमार्कको कोपनहेगनमा गएको दुई वर्ष र छोरी अस्ट्रेलिया गएको पाँच वर्ष भइसकेको उहाँले बताउनुभयो ।
श्रेष्ठले भन्नुभयो, ‘‘हामी वृद्धा आश्रममा लग्यो भनेर छोराछोरीलाई गाली गर्छौं तर हामी वृद्धवृद्धाहरू घरमा हुँदा पनि एक्लै छाँैं । बरु वृद्धा आश्रममा हामीजस्ता धेरै वृद्धवृद्धा हुन्छन् दुःख सुख भनेर अलि भए पनि मन हल्का हुन्थ्यो होला कि !’’
समाजमा हरेक घरबाट विदेशिएका आमाबुवाको पीडा यस्तै हुन्छन् । स्थायी घर झापामा भएका रोशन कार्कीको अवस्था पनि श्रेष्ठकै जस्तो छ ।
उहाँले भन्नुभयो, ‘‘एक मात्र छोरा अस्ट्रेलिया गएको चार दिन मात्र भयो । यो बेला उसलाई सम्झिरहेको छु ।” अध्ययनका लागि आफ्नो छोरा अस्ट्रेलिया गएको जानकारी दिँदै अबको दुई वर्षमा आउने योजना छ के गर्छन् थाहा छैन । ‘‘एक्लो छोरा नजाउ हामी बूढाबूढी मात्र छौँ, भनेको तर मानेन गयो अहिले निकै याद आइरहेको छ ।’’
कामका लागि विगत तीन वर्षदेखि दुबईमा रहनुभएका विनीता पोखरेलले भन्नुभयो, अरूको देशमा आफ्नो परिवारको सम्झना त निकै आउँछ तर बाध्यता छ तर के गर्नु । बुवाको मुख हेर्ने दिनमा केही सामान पठाइदिन्छु अनि बिहानै भिडियो कल गर्छु ।
सात वर्षदेखि अमेरिकामा रहनुभएको नितेश तामाङ पनि बुवालाई बिहानै भिडियो कल गरेर आशीर्वाद लिने योजनामा हुनुहुन्छ । समाज कल्याण केन्द्र, वृद्धाश्रम पशुपति विगत १७ वर्षदेखि बस्दै आउनुभएको गोपाल खत्री भन्नुहुुन्छ, ‘‘छोराछोरीको सम्झना त आउँछ तर यहाँको माहोल नै रमाइलो छ ।’’
बुवाआमालाई खुवाउने आँैसीमा सबैले आफ्ना छोराछोरीलाई सम्झने स्वाभाविक हो तर मलाई त्यस्तो दुःख भने लाग्दैन उहाँले थप्नुभयो, ‘‘यहाँ कति आमाबुवा नभएकाहरूले हामीलाई मीठो मीठो परिकार खुवाउन आउनुहुन्छ, सुत्नका लािग बास र खानका लागि गाँस दिएकै छ मलाई यसमा नै खुसी छ । आफ्नो सन्तानले नगरेको गुण गरिरहेको छ मलाई त मेरो छोराछोरी कता छ केही थाहा छैन ।’’
आफ्ना बुवालाई भेट्न नसकेपछि बुवाको फोटो सामाजिक सञ्जालमा राखेर भावना प्रकट गर्ने पनि प्रशस्तै भेटिन्छ । यस दिनमा घरघरमा कुश राखेर कुशको अर्चना गर्ने गरिन्छ । कुश, तुलसी र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मानिएको छ । भगवान् इन्द्रले स्वर्गबाट कुश, तुलसी र शालिग्राम पठाएको भन्ने कथन छ । वर्षका सबै औँसी पितृको रहे पनि सबै औँसीमा पितृको कार्य गर्न नसक्नेले यो कुशे औँसीका दिन भने टुटाउन नहुने ज्योतिषीय मान्यता रहेको ज्योतिष डा. सुनील सिटौलाले जानकारी दिनुभयो ।
भदौ कृष्ण औँसीका दिन शुक्रबार पितृ कार्य र देव कार्यमा प्रयोग हुने कुश घर डेरामा भिœयाइँदैछ । कुश, तुलसी, पीपल र शालिग्रामलाई विष्णुको प्रतीक मानिन्छ । सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीसँगै कुशको पनि उत्पत्ति गरेको हुन् भन्ने धार्मिक मान्यता छ ।
बाबु नहुने चुडाकर्म गरेका टुहुराले श्राद्ध तथा तर्पण गर्ने छोरीचेलीले प्रसाद ग्रहण गरेर बाबुप्रति श्रद्धा प्रकट गर्ने गरिन्छ । पशुपति राजराजेश्वरीमा रहेको विराटेश्वरमा यो दिन पूजा अर्चना गर्ने चलन छ । gorkhapatraonline