१८ कात्तिक, काठमाडौं । दसैंमा गृह जिल्ला गएका बेला ‘भट्टराई पूर्वसमूह’ का केही कार्यकर्तासँग भेट भयो । उनीहरुले आफ्नै समूहका नेताको चर्को विरोध गरे । ती नेता गएका ठाउँमा आफूहरु नजाने ‘पानी बाराबार’ सम्मको कुरा गरे । आफ्नै विचार समूहका नेताप्रति उनीहरुको घोषणा थियो- ‘अब फेरि त्यो मान्छे नयाँशक्तिको नेता भएको छ रे, त्यसलाई हामी मान्दैनौं ।’
दसैंको मुखमा केपी ओलीलाई प्रधानमन्त्री बनाउनुहुँदैन भन्दै ‘भट्टराई पूर्वसमूह’का २९ भाइले वक्तव्य निकालेका थिए । सो वक्तव्यमा नाम उल्लेख भएका एक नेताले यो पंक्तिकारलाई फोन गरेर भने- ‘मेरो नाम राखिदिएछन्, मैले हस्ताक्षर गरेको छैन भनेर समाचार बनाइदिनुपर्यो, मैले फेरि यर्हीँभित्रै पनि लड्नुपर्ने भयो ।’
दसैं सकिएलगत्तै ‘भट्टराई पूर्वसमूह’ का ४५ भाइ एमाओवादी नेताहरुको लिखित वक्तव्य आएको छ । र, त्यसमा भनिएको छ कि अब हामी नयाँ शक्तिको निर्माणमा लाग्छौं ।
तर, नयाँ शक्तिमा लाग्छौं भनिरहेका एमाओवादी नेताहरु यस्तो भवितव्यमा छन् कि विगतमा माओवादी र एमाओवादी भएर हिँड्दाखेरि उनीहरुको शरीरमा लागेको लुतो अझै निको भएको छैन । ‘माओवाद’ र ‘जनयुद्ध’को लुतो लागेकाहरुले कसरी बनाउलान् नयाँ शक्ति ?
‘भट्टराई पूर्वसमूह’ भित्रै यदुवंशी झगडा छ, एकले अर्काको पीठ पछाडि कुरा काट्ने र अविश्वास गर्ने काम गरिरहेका छन् । माओवादको शब्दकोषमा अन्तरविरोधसँग खेल्ने र फुटाउने भन्नेमात्रै छ, सामाजिक एकता, मिलाप र पारदर्शिता माओवादीको शब्दकोषमा भेटिँदैन ।
नयाँ शक्ति बनाउँछु भन्ने नेताहरुको नाम लिँदा उनका आफ्नै कार्यकर्ताहरुले मुख खुम्च्याउँछन् । यस्ता अस्वस्थ मानिसहरुले बनाउने नयाँ शक्ति कस्तो होला ? उनीहरुले बनाउने नयाँ शक्ति एउटा सानो गुटमा परिणत हुने गम्भीर खतरा नै बढी देखिन्छ ।
जनयुद्धकालमा डा. बाबुराम भट्टराईले दाबी गर्ने गरेका थिए कि ‘माओवादी भनेको समस्या होइन, समाधान हो ।’ तर, अहिले परिस्थिति यस्तो बनेको छ कि ‘माओवादी समाधान होइन, समस्या हो ।’ पार्टी संगठनको विकासमा वा उनै आर्थिक काममा माओवादीहरु जहाँ हुन्छन्, त्यहाँ समस्या खडा हुने गरेको छ । नयाँ शक्ति बनाउने भनेको ४५ भाइको समूहमा पनि समस्या छ । लुतो छ ।
मार्क्सवाद र माओवादको लुतो लागेका केही व्यक्तिहरुले केही समय पहिले डा. बाबुराम भट्टराईले बैंकर्स अनिलकेशरी शाहसँग गरेको भेटप्रति तीव्र आपत्ति जनाएका थिए । ‘अनिल शाहजस्ता सुकिला-मुकिलासँग मिलेर कस्तो नयाँ शक्ति बनाउने ? कुन वर्गको नयाँ शक्ति बनाउने ?’ उनीहरुले डा. भट्टराईमाथि यस्तो टिप्प्णी गरेका थिए । अनिल शाहले आफ्ना कर्मचारीलाई राम्रो तलब खुवाउन नसकेको र वित्तीय पुँजीवादी शोषणका आधारमा टिकेको भन्दै उनीबाट नयाँ शक्ति नबन्ने टिप्पणी गरेका थिए ।
अब निश्चित छ कि ४५ भाइले बनाउने नयाँ शक्तिमा पनि यस्तै सोचाइहरु लुतोका रुपमा प्रकट हुने छन् । अझ अगाडि बढेर यो समूहले ‘जनयुद्ध’को स्कुलिङबाट आएका र विगतमा माओवादीको आलोचना गर्नेहरुका वीचमा एउटा ठूलो ‘बर्लिन-पर्खाल’ खडा गर्ने निश्चित छ ।
तर, यो भन्दा ठूलो खतरा के देखिन्छ भने त्यो ‘बर्लिन-पर्खाल’को पूर्वपटि्टी बस्ने पूर्वमाओवादीहरु एकापसमै झगडा गर्नेछन् र बोलचाल बन्द गर्नेछन् । ‘जनयुद्ध’को ‘स्कुल’बाट उनीहरुले सिकेकै यत्ति हो । त्यही पुरानो सुके लुतोले उनीहरुलाई अगाडि बढ्न दिने छैन । गैर माओवादी कित्ताबाट आएका सुकिला-मुकिलाहरुलाई उनीहरुको घरभित्र अछुतको व्यवहार हुने प्रायः निश्चित छ ।
यो अवस्थामा जनयुद्धको स्कुलिङबाट आएकाहरुको नेतृत्वमा नयाँ शक्ति बन्ने सम्भावना निकै कम हुनेछ । वर्गको घेरा, पूर्वगुटको घेरा र अलोकतान्त्रिक कार्यशैली माओवादी समूहभित्रको लुतो हो ।
अब यो देशलाई नयाँ बनाउने हो भने मान्छेलाई फोहोरी र विपन्न बनाउने होइन, सुकिला-मुकिला र धनीमानी बनाउने बाटोमा लाग्नुपर्छ । कोही पनि सम्पन्न एवं धनी हुनु अपराध होइन । अनिल शाहले देशमै बसेर मेगा बैंक सञ्चालन गरी जति नेपालीलाई रोजगारी दिएका छन्, त्यो उनको अपराध होइन । जसले उनलाई अपराधी ठान्छ, त्यसले नयाँ शक्ति वा नयाँ नेपाल बनाउन सक्दैन ।
माओवादीले धर्मगुरुसरह ठान्ने गरेका उनै माओत्सेतुङले पनि नयाँ जनवादमा राष्ट्रिय पूँजिपति वर्गलाई प्रोत्साहन गर्ने नीति लिएका थिए । माओका भोल्युममा स्पष्ट लेखिएको छ- ‘परिवारको आर्थिक अवस्था सुदृढ गर ।’
तर, नेपालका माओवादीहरुले के सिकाइरहेका छन् भने गरीब हुनु राम्रो हो, धनीहरु, सुकिला-मुकिलाहरु फटाहा हुन्, निजी एवं पारिवारिक सम्पत्ति आर्जन गर्नु राम्रो होइन । सम्वृद्ध बन्नु, उद्योगपति बन्नु राम्रो होइन । तर, चन्दा उठाएर बाँच्नु, कमिसन खाएर जीवन चलाउनु अनि भ्रष्ट जीवनशैली अपनाउनु चाँहि क्रान्तिकारिता हो । ‘माओवादी जनयुद्ध’ले सिर्जना गरेको ‘सांस्कृतिक-मूल्य’ यो भन्दा अर्को के छ ? र, यस्तो धरातलमा टेकेर ‘भट्टराई पूर्वसमूह’ले नयाँ शक्तिको नेतृत्व गर्ला भनेर कसरी विश्वास गर्ने ?
बाबुरामलाई कब्जामा लिने प्रयास
नयाँ शक्ति बनाउने घोषणा गरेका ४५ भाइले एक्लै पार्टी छाडेका डा. बाबुराम भट्टराईलाई कब्जामा लिने प्रयास थालेका छन् ।
पार्टी एक्लै छाड्नुको कारणबारे समाजका विभिन्न समुदायलाई स्पष्ट पार्ने क्रममा यसअघि डा. भट्टराईले बताएका थिए कि माओवादीको गुट बनाएर नयाँ शक्ति निर्माण हुँदैन । तर, अहिले डा. भट्टराई सोही एउटा पूर्वगुटको नेतामा खुम्चिनुपर्ने चर्को दबावमा परेका छन् । यो कुरा निश्चित छ कि बाबुरामले बनाउने ‘नयाँ शक्ति’ माओवादीको लुतो लागेका बेराजगार, वर्गविहीन एवं पेशाविहीन मानिसहरुकै नेतृत्वमा बन्यो भने त्यसले गैरमाओवादीलाई कुनै आकर्षण गर्ने छैन ।
आफ्नो जीउमा पुरानै माओवाद र जनयुद्धको लुतो बोकेर हिँडेका मानिसले नयाँ शक्ति बनाउँछन् भन्ने भ्रमबाट शायद डा. बाबुराम भट्टराईसमेत मुक्त भइसकेका छन् । र, अब मुक्त हुन बाँकी अरु कोही छ भने उही ४५ भाइको ‘भट्टराई पूर्वसमूह’ हुन सक्छ ।
नयाँ शक्तिको बाधक को ?
नेपालमा नयाँ शक्तिको सम्भावना छ कि छैन भन्ने बेग्लै बहसको विषय हो । तर, नयाँ शक्तिको तात्कालिक चुनौतीचाँहि ‘माओवाद’ नै हुनेछ ।
कांग्रेस र एमालेको विकल्प खोजिरहेका जनताले नयाँ शक्ति भन्नासाथ प्रश्न गर्ने गरेका छन् कि हिजो माओवादीले दिएका आश्वासन खोई पूरा भए ? अब यो नयाँ शक्ति अर्को माओवादी बन्दैन भन्ने के ग्यारेन्टी ? हिजो १५ हजार मानिसको रगत बगेर के पाइयो ? यस्ता अनिगिन्ती प्रश्नहरु नयाँ शक्तिमाथि सोझिने छन्, जुन माओवादीसँगै सम्बन्धित छन् ।
अझै अब बन्ने नयाँ शक्तिको केन्द्रीय नेतृत्व पूर्वमाओवादीकै हातमा गयो भने त झनै मानिसहरुले माओवादको लुतो अझै जोडजोडले कन्याउन थाल्नेछन्, जसले नयाँ शक्तिलाई सम्वृद्धि र एकताको बाटोमा हिँड्न डिस्टर्ब गर्छ । यही कारणले गर्दा नयाँ शक्ति निर्माणका लागि माओवाद साधक होइन, बाधक हो ।
माओवादी जनयुद्धका कमजोरीहरुलाई सच्याएर मात्रै नयाँ शक्ति निर्माण हुन सक्छ । र, नयाँ शक्तिको मूल नेतृत्व पूर्वमाओवादीले होइन, गैरमाओवादीले मात्रै गर्न सक्छन् । तर, केही पूर्वमाओवादीहरु नयाँ शक्तिमा संलग्न भएर सच्चिन सक्ने सम्भावनालाई चाँहि अहिल्यै अस्वीकार गर्न सकिन्न । माओवादीको लुतो लागेकाहरुबाट चाँहि नयाँ शक्तिको नेतृत्व सम्भव छैन । नयाँ शक्ति बनाउँछु भन्ने एमाओवादी नेताहरुको दिमाग ‘रि-इन्स्टल’ गर्न जरुरी छ ।
नयाँ शक्ति बनाउने हो भने अब त्यो ‘माओवाद’मा आधारित हुन सक्दैन । नयाँ शक्तिले ‘कम्युनिष्ट’ वा मार्क्सवाद पनि भनिराख्न आवश्यक छैन । एमाओवादी र प्रचण्डप्रति वा अन्य दलहरुप्रति अनावश्यकरुपमा प्रहार गर्ने कार्यनीतिले मात्रै पनि नयाँ शक्ति बन्दैन ।
र, अरुसँग चन्दा मागेर जिविका चलाउने बेरोजगार नेता कार्यकर्ताको उत्पादनले पनि नयाँ शक्ति बन्दैन । विगतको जनयुद्ध र बहादुरीको गीत गाएर मात्रै अब नयाँ शक्तिको नेता बन्ने दिन गुजि्रइसकेको छ । नयाँ शक्ति बनाउन नयाँ मान्छे, नयाँ दिमाग चाहिन्छ । ‘माओवादी-सफ्टवेर’ को अब नेपाली समाजमा सान्दर्भिकता सकिइसकेको छ ।
ट्विटरमा-@ArunBaral1