पैंसा नहुँदा डिस्चार्ज नभएकी जेनीलाई मन्त्री थापाको सहयोग

विकल्प न्यूज/ललितपुर

असार १६ गते ।  महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले एसिड आक्रमणमा परेकी जेनी खड्कालाई पचास हजार रुपियाँ सहयोग गरेकी छन् ।

मन्त्री थापाले कीर्तिपुर अस्पतालमा उपचार गराईरहेकी खड्काकी आमा कमला चन्द खड्कालाई शुक्रबार अस्पतालमै पुगेर पचास हजार रुपियाँको चेक हस्तान्तरण गरेकी हुन् ।

पैंतालिस दिनदेखि सो अस्पतालमा उपचार गराइरहेकी जेनीलाई डिस्चार्जका लागि रकम अभाव भईरहेको जानकारी पाएपछि सहयोग गरेको मन्त्री थापाले बताइन् । जेनी खड्काकी आमा कमला चन्द खड्काले कलिलो उमेरकी छोरीको जीवन एसिड आक्रमणले जलाएपछि परिवारको खुसी लुटिएको बताइन् ।

अस्पतालमा उपचार गर्न मात्रै तीन लाख भन्दा बढि खर्च भइसकेको उनले बताइन् । उपचारका लागि डेढ लाख पहिल्यै बुझाएको र अझै डेढ लाख तिर्न बाँकी रहेको उनले दुखेसो पोखिन् । शरीर पुरै जलेर घाइते भएकी छोरीको रकम अभावमै डिस्चार्ज गर्न समस्या भएका बेला मन्त्रीले अस्पतालमै आएर सहयोग गरेपछि ज्यादै खुसी लागेको उनले प्रतिक्रिया दिइन् । उपचारका लागि अरु सहयोग पनि जुटाइदिन उनले आग्रह गरिन् ।

सो अस्पतालका जनसम्पर्क अधिकृत तारानीधि भूर्तेलले जेनीको सातवटा सल्यक्रिया गर्दा दुईवटा निःशुल्क गरेको र अस्पतालमा रहँदा लाग्ने खर्चमा पनि २० प्रतिसत छुट गरेको जानकारी दिए ।

को हुन् जेनी ?

जेनी खड्का राजधानीको कालोपुलमा जेठ १ गते बुधबार राति एसिड आक्रमणमा परेकी थिइन् । दोलखा स्थायी घर भएकी २० वर्षीया खड्कामाथि उनकै ३६ वर्षीय श्रीमान् विष्णु भुजेलले एसिड प्रहार गरेका थिए ।

कालोपुल सडकमा एसिड आक्रमणमा परेपछि स्थानीयले उनलाई तत्कालै नजिकैको ओम अस्पतालमा पु¥याएका थिए । त्यहाँ उपचार सम्भव नभएपछि उनलाई कीर्तिपुर लगिएको थियो । प्रहरीसमेत उत्ति बेलै आक्रमणकारीको खोजीमा सक्रिय भयो । प्रहरीले एसिड प्रहार गर्ने भुजेललाई राति साढे १० बजे काँडाघारीबाट पक्राउ गरेको थियो ।

जेनीको परिवारका अनुसार १५ वर्षको उमेरमा भुजेलले जेनीलाई झुक्याएर विवाह गरेका थिए । विवाहपछि समेत उनीहरू राजधानीमै डेरा गरी बस्दै आएका थिए । खड्काले १७ वर्षको उमेरमै पहिलो सन्तान जन्माइन् । त्यसलगत्तै भुजेलले खड्कालाई काभ्रेको दाप्चामा रहेको घरमा पु¥याए । त्यसपछि जेनीले पत्तो पाइन्, श्रीमान्को आफू कान्छी श्रीमती हुँ भन्ने ।

जेनी आफूलाई झुक्याएर बिहे गरेको र घरमा अर्की श्रीमती रहेको जानकारी पाएपछि श्रीमान् छाडेर अलग्गै बस्ने निष्कर्षमा पुगिन् । त्यसलगत्तै उनी आफ्नो माइती फर्किएर आमाको डेरामा बस्दै आएकी थिइन् ।

एकातिर आफू कम उमेरकी अर्कोतिर घरमा अर्की श्रीमती रहेको थाहा पाएपछि जेनी अलग बस्दै गर्दा समेत भुजेलले फोन गर्ने र धम्क्याउने गरेको जेनीकी आमाले बताइन् ।

जेनी कक्षा १० मा अध्ययनरत थिइन् । यस्तै, उनी एक सहकारीमा काम गर्दै आएकी थिइन् । भुजेलले जेनीलाई झुक्याएरै कलिलो उमेरमा भगाएर विवाह गरेको प्रहरीले समेत बताएको छ ।

जेठ १ गते साँझ भुजेलले जेनीलाई भेट्न मन लागेको र केही कुरा गर्ने भन्दै कालोपुल सडकमा बोलाएका थिए । पटक–पटकको आग्रहपछि उनी डेराबाट भुजेललाई भेट्न भन्दै निस्किएकी थिइन् । त्यसको केही बेरमै उनीमाथि श्रीमान्बाटै एसिड आक्रमण भएको थियो । एसिड आक्रमणबाट उनको छाती, हात, गोडालगायत शरीरका अधिकांश भाग जलेको छ  साभारः www.mahilakhabar.com