विकल्प न्यूज/बेनी
जेठ १५ गते । जिल्लाको रघुगंगा गाउँपालिकाको ५ नम्बर वडा झिँमा चालु आर्थिक वर्षमा विनियोजन गरेका पूर्वाधार तथा सामाजिक विकास तर्फका योजनाहरु सम्पन्न भएका छन् ।
वडाले सिफारिस गरी गाउँपालिकाबाट विनियोजन भएका सडक,खानेपानी,पुल,पदमार्ग,खेलकुद मैदान निर्माण,लगायत अन्य सामाजिक तर्फका योजनाहरु सम्पन्न भएको वडा अध्यक्ष मनबहादुर शेरपुन्जाले जानकारी दिनुभयो ।योजनाहरु सम्पन्न गर्नका लागि गाउँपालिकाबाट चालु आर्थिक वर्षमा ६६ लाख पचास हजार रुपियाँ बजेट उपलब्ध गराएको उहाँले जानकारी दिनुभयो । वडा कार्यालयका लागि जग्गा खरिद गर्न २० लाख,घाङग्री खोला पुल निर्माण ३ लाख,झिँ पाखापनी सडक मर्मत ६ लाख,झिँ खेलमैदान निर्माण तथा मर्मत ७ लाख र डेम्बरबोट घाङग्री खोला देखि फुलडाडा सम्मको गोरेटो बाटो निर्माण ५ लाख रुपियाँ बजेट विनियोजन भएको थियो । यसै गरी पुरानो वस्तो बाटो मर्मत १ लाख,सहकारी घेरावार १ लाख,महेन्द्र मावि भवन मर्मत ५ लाख र हिला खानेपानी योजनाका लागि ३ लाख पचास हजार रुपियाँ बजेट विनियोजन भएको वडा अध्यक्ष शेरपुन्जाले जानकारी दिनुभयो । खानेपानी योजनाको करिब पचास प्रतिशत काम सम्पन्न भएको र जेठ महिना भित्र सवै सम्पन्न हुने उहाँले जानकारी दिनुभयो । उपभोक्ता समिति मार्फत निर्माण गरिएका योजनाहरुमा जनशहभागिता पनि उल्लेख्य रुपमा जुटेको उहाँले बताउनुभयो । असार विकासलाई अन्त्य गर्नका लागि समयमै योजनाको काम सकेको वडा अध्यक्ष शेरपुन्जाले बताउनुभयो ।