कृषिलाई प्राथमिकतामा राख्न शिखवासीको माग

सुरेन गुरुङ/शिख
जेठ १५ गते । म्याग्दीको अन्नपुर्ण गाउँपालिका ५ शिखमा सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । गाउँपालिकाको आयोजना र म्याग्दी मिडीया सोसाइटीको सहजिकरणमा शिखमा कार्यक्रम सम्पन्न भएको हो । आर्थिक बर्ष २०७५/७६ मा सञ्चालित योजना तथा कार्यक्रम र सार्वजनिक सेवा प्रवाह सम्वन्धमा वडाबासीको गुनासो,जिज्ञासा एवम् सुझाव संकलन गर्ने उद्धेश्य सहित कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष क्याप्टेन डम बहादुर गर्बुजा पुन ,प्रमुख प्रशासकीय अधिकृत केदारनाथ शर्मा,वडा अध्यक्ष दिनेशकुमार पुन ,शिक्षा शाखाका प्रमुख भरत पुन र सामाजिक विकास शाखाका अधिकृत हरिकृष्ण आचार्यले स्थानिय वडा वासीहरुले उठाएका प्रश्नको जवाफ दिनुभएको थियो ।

स्थानियवासीहरुले पोखरेबगर– शिख –घोरेपानी सडक निर्माणमा ढिलाई भएकोप्रति गुनासो व्यक्त गरेका थिए । शिखलाई आलु पकेट क्षेत्र बनाउने घोषणा गरिए पनि विउ बाहेक कृषीलाई आधुनिकरण गर्न बजेट विनियोजन नगरेको,गाउँपालिकाको सार्वजनिक सेवा प्रवाहमा प्रकृयागत झण्झटिलो ,पाउद्धरबासीहरुले वडा कार्यालय टाढा भएकाले सेवा लिन कठिन हुने गरेको , लक्षित दलित समुदायलाई आएको कार्यक्रम संचालनका लागि प्रकृयागत ढिला सुस्तीका बारेमा जिज्ञासा तथा प्रश्न उठाएका थिए ।गाउँपालिकाका अध्यक्ष गर्बुजा पुन मगरले गाउँपालिकाले सेवा प्रवाहलाई छिटो ,छरिटो र चुस्त बनाउन कुनै पनि कसुर बाँकी नराख्ने र सेवा प्रवाहमा हुने प्रकृयागत झण्झटिलो हटाउन निति तथा ऐन निर्मााण गरि अगाडी बढ्ने बताउनुभयो । उहाँले टुक्रे योजनालाई अन्त्य गरी प्रभावकारी हुने ठुला योजनालाई प्राथमिकता दिइने बताउनुभयो । विकास निर्माणमा गाउँपालिकाको एकल प्रयासले मात्र नभई स्थानियबासीहरु पनि एक हुनुपर्नेमा जोड दिनुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शर्माले गाउँपालिकामा पूर्वाधार निर्माण र अन्य कार्यक्रमहरु अधिकाँश सम्पन्न भैसकेको बताउनुभयो । बस्ती स्तरबाट गाउँपालिकाको सेवा प्रवाहको अबस्था र विकास निर्माण तथा कार्यक्रमको प्रभाबकारीतालाई बुझ्नको लागि हरेक वडामा सार्वजनिक सुनुवाई गर्न सुरु गरिएको प्रशासकिय अधिकृत शर्माले जानकारी दिनुभयो ।

कार्यक्रममा वडा नं ५ का अध्यक्ष पुन मगरले वडाको सबै बस्तीका योजनाहरुलाई कार्यान्वयनमा जुटेको बताउँदै आगामी बर्षको लागि दिगो र उपलब्धीमुलक योजनाहरुलाई प्राथमिकता दिईने बताउनुभयो । उहाँले पाउद्धर वासीहरुको समस्यालाई लक्ष्यित गरि स्थानिय स्तरमा गई सेवा प्रवाह गर्ने बताउनुभयो ।अध्यक्ष क्याप्टेन पुन मगरको अध्यक्षता , म्याग्दी मिडिया सोसाईटीका उपाध्यक्ष हरिकृष्ण गौतम र सदस्य साधन राम्जालीको सहजिकरणमा कार्यक्रम समापन भएको थियो । कार्यक्रममा वडा नं ६ का अध्यक्ष कृष्णप्रसाद बरुवाल र कार्यपालिकाका सदस्य विष्णुकुमारी परियारले मन्तव्य व्यक्त गनुभएको थियो ।