रघुगंगाका ज्येष्ठ नागरिकलाई घरदैलोमै उपचार

विकल्प न्यूज/बेनी
जेठ ५ गते । म्याग्दीको रघुगंगा गाउँपालिकाले ज्येष्ठ नागरिकहरुलाई घरदैलोमै पुगेर स्वस्थ्य सुविधा प्रदान गरेको छ । गाउँपालिकाको सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत ज्येष्ठ,अपाङ्ग र एकल महिलाहरुलाई घरआगनमै पुगेर निशुल्क स्वास्थ्य परिक्षण र आयुर्वेद औषधि वितरण गर्न थालेको हो ।

ज्येष्ठ नागरिकको स्वास्थ्य परिक्षण र औषधि वितरणका लागि गाउँपालिकाका आयुर्वेद शाखाका प्रमुख कविराज निरिक्षक लक्षमण शर्मा चालिसे सहितको टोली खटिएको छ । टोलीले गाउँपालिकाको दुर्गम भेगमा पुगेर ज्येष्ठ नागरिकको स्वास्थ्य परिक्षण गर्नुका साथै आयुर्वेद औषधि वितरण गरेको हो । वडा नम्बर ५ झिँ,६ पाखापानी,७ चिमखोला र ८ कुइनेमंगलेका गरी एकसय पचास जना भन्दा वढीको स्वास्थ्य परिक्षण गर्नुका साथै औषधि वितरण गरेको आयुर्वेद शाखाका प्रमुख कविराज निरिक्षक चालिसेले जानकारी दिनुभयो ।

बृद्धबृद्धा र अशक्तहरुको सेवाका लागि गाउँपालिकाको सामाजिक सुरक्षा कार्यक्रम अन्र्तगत सवै वडामा पुगेर निशुल्क स्वास्थ्य परिक्षण र औषधि वितरण गर्ने कार्यक्रम रहेको प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले बताउनुभयो ।

निशुल्क स्वास्थ्य परिक्षण र औषधि वितरणले ज्येष्ठ नागरिकहरुमा स्थानीय सरकारप्रतिको अपनत्व बढ्ने आशा गरिएको गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारीले बताउनुभयो ।