विकल्प न्यूज/बेनी
बेनी २२ चैत । मुक्तिनाथ विकास बैङ्कले बिहीबार म्याग्दीको सदरमुकाम बेनीमा वित्तिय कारोवार सुरु गरेको छ ।
वैकले बेनीमा एकसय १४ औं शाखाको उद्घाटन गरेर कारोवार सुरु गरेको हो ।
बेनीको क्याम्पसचोकमा स्थापना भएको शाखाको बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले उद्घाटन गर्नुभयोे । नगरप्रमुख श्रेष्ठले आम नागरिक समक्ष वित्तिय पहुँच बढाउन र उद्यम, व्यवसायका लागि सरल तथा सहज रुपमा कर्जा प्रवाह गर्न आग्रह गर्नुभयो ।
बेनी बजार भुगोल र जनसंख्याको दृष्टीले सानो सहर भएपनि आर्थिक कारोवार आर्कषक भएको बताउँदै मुक्तिनाथ विकास वैंकका संञ्चालक चुडामणी कँडेलले वैंकको उपस्थितीले उत्पादनमुलक क्षेत्रमा लगानी गर्न चाहने ब्यवसायीका लागि अवसर भएको बताउनुभयो । कृषि र पर्यटन क्षेत्रमा सहज कर्जा उपलब्ध गराउने प्रतिवद्धता जनाउनुभयो ।कार्यक्रममा म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कर्माचार्यले विदेश अध्ययन गर्न जाने र सरकारी बजेट समयमा खर्च नहुँदा म्याग्दीमा तरलताको अभाव देखिन थालेको बताउनुभयो । म्याग्दी बहुमुखी क्याम्पसका प्रमुख टिकाराम सापकोटा, पत्रकार महासंघका अध्यक्ष तारानाथ शर्माले युवा पुस्तालाई रोजगारीका लागि विदेश पलायन हुनबाट रोकेर उद्यम व्यवसायमा आकर्षित गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा बैङ्कको क्षेत्रीय प्रमुख बाबुराम ढकाल, स्थानीय व्यवसायी रामनारायण श्रेष्ठ लगायतले मन्तब्य व्यक्त गर्नुभएको थियो । बैङ्क सञ्चालक समितिका अध्यक्ष खिमप्रकाश मल्लको अध्यक्षतामा भएको कार्यक्रममा शाखा प्रबन्धक सुदिप घिमीरेले स्वागत गर्नुभएको थियो ।
एक हजार घरधुरीको बसोबास रहेको बेनीमा मुक्तिनाथसँगै बैंकको शाखाको संख्या २० पुगेको छ । बचत तथा ऋण सहकारी ३५ वटा र १५ वटा लघुवित्तहरुले आर्थिक कारोवार गरिरहेका छन । बेनीमा पछिल्लो एक बर्षमा तीन वटा वैंकको शाखा थपिएका छन ।