विकल्प न्यूज/बेनी
चैत २० गते । गत आइतवार भिषण हावाहुरीका कारण प्रभावित भएका बारा र पर्साका पीडितहरुलाई बेनीमा रहेको दिदी बहिनी बचत तथा ऋण सहकारी संस्थाले आर्थिक सहयोग गरेको छ ।
६२ औँ राष्ट्रिय सहकारी दिवसका अवसरमा जिल्ला सहकारी संघले बेनीमा आयोजना गरेको कार्यक्रममा मुठ्ठीदान कार्यक्रम अन्तरगत संस्थाका सदस्यले जम्मा गरेको ३३ हजार ३ सय ३३ रुपैयाँ उपलब्ध गराएको हो ।
संस्थाकी अध्यक्ष ज्योती लामीछानेले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थाममाया थापा र जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीमार्फत संघीय सरकारको राहत कोषका लागि रकम हस्तान्तरण गर्नुभएको हो ।
साथै सहकारीले श्रीमानको कुटाइबाट घाइते भएकी धवलागिरी गाउँपालिका ६ मराङकी दिलमाया सुनारको उपचारका लागि पाँच हजार पाँचसय ५५ रुपैयाँ सहयोग गरेको सहकारीले जनाएको छ ।