बिहेकै लागि पाकिस्तानदेखि बागलुङसम्म

बागलुङ 

फरक जात, धर्म र देशका बीचका विवाहलाई अचम्म मान्ने चलन अझै हटेको छैन । बागलुङका एक युवकले पाकिस्तानी युवतीसँग गरेको विवाह यहाँ चर्चाको विषय बनेको छ ।

बागलुङ जिल्ला अदालतमा अमलाचौरका २३ वर्षीय सुदीन आचार्यले २२ वर्षीया आम्ना सफिकसँग विवाह गरेका छन् । दुई फरक देशको मात्र नभई उनीहरूमध्ये आचार्य हिन्दु र सफिक मुस्लिम हुन् । पाकिस्तानको रावलपिण्डीमा आईटी इन्जिनियरिङ अध्ययनरत सफिकले सामाजिक सञ्जालमार्फत आचार्यसँग सम्पर्कमा आएपछि नेपाली भाषासमेत सिकेर विवाह गरेकी हुन् ।

दुई वर्षअघि चिनजान भएका उनले नेपाली भाषा सिक्न थालेकी थिइन् । नेपालको ग्रामीण बासिन्दाझैं बोल्न, लेख्न सक्ने भएपछि उनले आइतबार अदालत पुगेर विवाह गरेकी हुन् ।

विवाहका लागि आचार्यका बुवा टीकाराम र आमा डिलमाया पनि अदालत पुगेका थिए । केटीतर्फका अभिभावक नभए पनि उनले पाकिस्तानी नागरिकता, शैक्षिक योग्यताको प्रमाणपत्र र केही समयदेखि बागलुङ नगरपालिका १२ को अमलाचौरमै अस्थायी बसोबास गरेको सिफारिस लिएर आएकी थिइन् । सफिकले बुवाआमासँग पनि सहमति लिएको बताइन् ।

मुलुकी देवानी संहिता २०७४ को दफा ७७ बमोजिम दर्ताद्वारा विवाह गर्न मञ्जुर भएमा न्यायाधीशले विवाह गराइदिन सक्ने व्यवस्थाअनुसार गराएको अधिवक्ता तिलकबहादुर रिजालले बताए ।

‘अदालतमा रितपूर्वकको निवेदन आएपछि सबै प्रक्रिया पुर्‍याएर विवाह गराइदिएको हो,’ न्यायाधीश प्रकाशप्रसाद पण्डितले भने,‘फरक धर्म र संस्कृतिलाई समाजले पनि स्वीकारेको यो नमुना घटना हो ।’कानुनी रूपमा बलियो बनेर उनीहरूले विवाह गरेको पण्डितले बताए । साथै मुस्लिम बुहारी स्वीकार्ने अभिभावक समेत फरक स्वभावको भएको पाएको उनले बताए ।

पाकिस्तान वा अन्य मुस्लिम देशमा विवाह गरेको भए धर्म परिवर्तन अनिवार्य मानिन्थ्यो । नेपालमा भएकाले दुवैले आफ्नो धर्म परिवर्तन नगर्ने बताए । ‘मैले पनि दबाब दिएको छैन, उनले पनि आफ्नो धर्ममै रहने भनेकी छन्,’आचार्यले भने,‘एकापसमा मिलेर जीवन जिउने योजना बनाएका छौं ।’ आईटी अध्ययनरत सफिकले नेपालमै मिलेर काम गर्ने बताइन् । आचार्यले पनि अभिभावककै सल्लाहमा विवाह गरेकाले धार्मिक रूपमा कुनै समस्या नपर्ने बताए ।

जिल्ला अदालतमा आइतबार ४ वटा विवाह भएको पण्डितले बताए । कानुनी रूपमा समस्या पर्न नदिने, विदेश जाने तयारी गरेका लगायतले अदालत आएर विवाह गर्न थालेका हुन् । सामाजिक रूपमा समस्या पर्न सक्ने भएपछि अन्तरजातीय, धार्मिक र अन्य साम्प्रदायिक रूपमा फरक परेकाले पनि अदालत पुगेर विवाह गराउँछन् । kantipurdaily