विकल्प न्यूज/बेनी
फागुन १२ गते । जलजला गाउँपालिका ५ लेकफाँटमा रहेको गिद्धेश्वर शिवालय मन्दिरमा आयोजित श्रीमद् भागवत ज्ञान महायज्ञमा करिब साठी लाख रुपैयाँ संकलन भएको छ ।
धार्मिक पर्यटकीय सम्भावना बोकेको गिद्धेश्वर शिवालय मन्दिरको संरक्षण र नियमित पुजा सञ्चालनका लागि आयस्रोत जुटाउने उद्देश्यले फागुन ५ गतेदेखि सुरु भएको महायज्ञ शनिबार सकिएको हो ।
सात दिनसम्म सञ्चालन भएको महायज्ञमा ५९ लाख ८४ हजार रुपैयाँ सहयोग संकलन भएको ग्रामप्रकाश मावि लेकफाँटका प्रअ भवानीशंकर पौडेलले जानकारी दिनुभयो ।
महायज्ञमा सबैभन्दा बढी लेकफाँटमा जन्मिएर हाल खैरहनी चितवन निवासी श्रीलाल सुवेदीले तीन लाख ३३ हजार ३३३ र महायज्ञ मुल आयोजक समितका अध्यक्ष सुवेदार भिमबहादुर जिसीले दुई लाख ५० हजार रुपैया सहयोग गर्नुभएको थियो ।
महायज्ञमा पण्डीत कमलनयन गौतमले धार्मिक प्रवचन गर्नुभएको थियो । महायज्ञबाट स्रोत जुटाएर वृद्धाश्रम समेत सञ्चालन गर्ने योजना रहेको छ ।