आइएमई लाइफ ईन्स्योरेन्सको अभिकर्तालाई अभिमुखीकरण

प्रताप बानियाँ / विकल्प न्युज
म्याग्दी, माघ २४ गते । आइएमई लाइफ ईन्स्योरेन्स कम्पनी लिमिटेड म्याग्दी शाखाको आयोजनामा बुधबार सदरमुकाम बेनीमा अभिकर्ता अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । ‘बचत सुरक्षा र लगानीका लागि बीमा, बीमाका लागि आइएमई लाइफ ईन्स्योरेन्स’ भन्ने नारासहित कम्पनीका अभिकर्ताहरुलाई अभिमुखीकरण गरिएको हो ।

कार्यक्रममा बोल्दै कम्पनीका सहायक महाप्रवन्धक आशिष सिंहले दुर्गम क्षेत्रमा पुगेर नागरिकलाई बीमाप्रति आकर्षित गर्नुपर्ने बताए । उनले कम्पनीको नयाँ योजना लन्च हुँदै गरेको धन–सरिता एकवर्षे अग्रीम भुक्तानीको बारेमा जानकारी दिँदै बीमाका विषयमा सहजीकरण गरेका थिए । कम्पनीका तालिम एवं शाखा व्यवस्थापक शरद ढुङ्गेलले बीमाका योजनाहरु, अभिकर्तालाई उत्प्रेरणा र बीमाप्रति आकर्षित गराउने उपायका बारेमा सहजीकरण गरेका थिए ।


कार्यक्रमको अवसरमा अभिककर्ताहरुले बीमा गराउने क्रममा भोगेका समस्या, चुनौती र सहज अवस्थाका विषयमा बोलेका थिए । कम्पनीका सहायक महाप्रवन्धक सिंहको अध्यक्षता, म्याग्दी शाखा प्रमुख जमुना आचार्यको सञ्चालन र एजेन्सी म्यानेजर सुगम श्रेष्ठले स्वागत गरेको कार्यक्रममा टिम म्यानेजर कमला बानियाँ थापाले मन्तव्य राखेकी थिइन् ।