रघुगंगामा शैक्षिक गुणस्तर सुधारको पहल

विकल्प न्यूज /बेनी
माघ १४ गते ।

म्याग्दीको रघुगंगा गाउँपालिकाले बालविकास देखि नै शैक्षिक गुणस्तर सुधारमा पहल थालेको छ । गाउँपालिकाभित्र रहेका ३५ वटै बालविकास केन्द्रमा उपयुक्त शैक्षिक वातावरण तयार गर्दै गुणस्तरीय सिकाईलाई अबलम्बन गर्नको लागि गाउँपालिकाले बालविकास केन्द्रलाई शैक्षिक सामाग्री सहयोग गरेको छ ।

गाउँपालिकाको केन्द्र मौवाफाँटमा बालविकास केन्द्रका सहयोगी कार्यकर्ताहरुको लागि कार्यशाला आयोजना गरी हरेक केन्द्रलाई १० हजार बराबरको शैक्षिक सामाग्री उपलब्ध गराईएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले जानकारी दिनुभयो ।

गाउँपालिकाले उपलब्ध गराएको ४० प्रकारका शैक्षिक सामाग्रीको उपयोगबारे आयोजित अनुशिक्षण कार्यक्रममा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले गाउँपालिका भित्र रहेका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार चुनौतिपूर्ण रहेकाले बालविकास देखिनै गुणस्तरीय शिक्षाको जग बसाल्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा शैक्षिक सामाग्री उपयोग, बालबालिकाको शिकाई उपलब्धीमा सुधार, व्यक्तित्व विकास र लगायतक बिषयमा मुख्य प्रशिक्षक प्रतिमा पाण्डे, सहायक प्रशिक्षकहरु राजकुमार घिमिरे, निर्मल पाण्डे लगायतले सहजीकरण गर्नुभएको थियो ।

गाउँपालिका अध्यक्ष भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष कमला तिलिजा, प्रमुख प्रशासकिय अधिकृत थापा, गाउँपालिकाका शिक्षा शाखाका सहसंयोजक दुतप्रसाद गर्वुजा लगायतले मन्तव्य राख्तनुभएको थियो भने शिक्षा शाखाका प्रमुख बालकृष्ण उपाध्यायको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।