ताजा समाचार:
Search

अन्नपूर्णमा गाउँपालिका भवनका लागि निशुल्क जग्गा

विकल्प न्यूज/बेनी
माघ १० गते । म्याग्दीको उत्तरी स्थित अन्नपूर्ण गाउँपालिकाको कार्यालय भवन निर्माणका लागि स्थानीयहरुले निशुल्क जग्गा उपलब्ध गराएका छन् । गाउँपालिका केन्द्र पोखरेबगरका स्थानीयवासीहरुले गाउँपालिकाको भवनका लागि ४ रोपनी आठ अना जग्गा निशुल्क उपलब्ध गराएका हुन ।

स्थानीयवासीले उपलब्ध गराएको जग्गाको मुल्य स्थानीय बजार भाउअनुसार एक करोड अनुमान गरिएको गाउँपालिकाका प्रवक्ता कृष्णप्रसाद बरुवालले बताउनुभयो । जालवीर पुर्जा, गोपाल बरुवाल, रामबहादुर बिसी, सन्तोष बरुवाल, कप्रसाद पुर्जा र गोकुल बरुवालले निःशुल्क जग्गा उपलब्ध गराउनुभएको हो ।

समुदायको पहलमा थप नौ रोपनी सार्वजनिक र शिवालय मन्दिर संरक्षण समितिले एक रोपनी तीन आना जग्गा गाउँपालिकाको भवनका लागि उपलब्ध गराएको उपभोक्ता समितिका अध्यक्ष खड्ग गिरीले बताउनुभयो । सो जमीन सम्याएर भवन निर्माण थालिएको छ ।

पहिलो चरणमा गाउँपालिका अन्तर्गत विषयगत कार्यालयका लागि आवश्यक ६ ब्लक निर्माण गर्न लागिएको हो । जग्गा व्यवस्थापन र भवन निर्माणका लागि चालू आवमा रु ५० लाख विनियोजन गरिएको उपाध्यक्ष केशमाया मगरले बताउनुभयो । पूर्वाधार अभावमा गाउँपालिका र विषयगत कार्यालयका शाखा भाडाको घरबाट सञ्चालन गरिँदै आएका छन् । 

गाउँपालिकाको कार्यालय भवन निजी घर भाडामा लिएर सञ्चालन गरिएको छ । स्वास्थ्य, कृषि, पशुलगायत शाखा स्थानीय आमा समूहको एउटै भवनमा छन । साँघुरो भवनबाट सेवा प्रवाह गर्न कठिनाइ भएको छ । भवनलगायत पूर्वाधारको व्यवस्था भएपछि सेवा प्रवाहमा सहज हुने अपेक्षा गरिएको छ ।