वडा अध्यक्षको पद त्यागेका खड्काको फस्टाउँदो बाख्रापालन

साधन राम्जाली/विकल्प न्यूज
मघ १० गते । दुइवर्ष अघि स्थानीय तहको निर्वाचनमा बेनी नगरपालिका २ ज्यामरुककोटको वडा अध्यक्षको उम्मेदवार बन्न पार्टीले गरेको प्रस्तावलाई अस्विकार गर्नुभएका खबरका यामबहादुर खड्काले बाख्रपालन व्यवसाय सुरु गर्नुभएको छ । २० लाख रुपियाँ लगानी गरेर खड्काले उन्नतजातका बाख्रापालन व्यवसाय सुरु गर्नुभएको हो ।

४८ बर्षिय खड्काले २० लाख रुपियाँको लगानीमा बाख्रापालन व्यवसाय सुरु गर्नुभएको छ । खबरा कृषि तथा बाख्रा फर्म स्थापना गरि खडकाले अफ्रिकन बोयर जातका बाख्रा पाल्न सुरु गर्नुभएको छ । गत साउनमा चितवन जगतपुर एग्रोबाट बाख्रा ल्याएर पाल्न सुरु गर्नुभएको हो । एक रोपनी क्षेत्रफलमा फैलिएको खड्काको फर्ममा दुई स्थानीय लोकल, आठ बोयर क्रस, पाँच पाठी, एक बोका र ६ बोयर जातका गरि १६ वटा बाख्रा छन् । बाख्रा ब्याएको ६ महिनामा बेच्नका लागि तयार हुने खड्काको भनाई छ ।

बाख्रालाई दाना, भुँई घास तथा ढाले घास खुवाउँदै आइरहेको उहाँले बताउनुभयो । बोयर जातको बोकाको मुल्य तीन लाख छ भने पाठीको २ लाख २५ हजार रुपियाँ पर्ने बाख्रा खड्काको फर्ममा छन् ।

छिटो हुर्कने र आर्थिक रुपमा छोटो समयमा धेरै आम्दानी गर्न सकिने भएकाले अफ्रिकन बोयर जातका बाख्रापालन गरिएको खड्काले बताउनुभयो । पुर्व नेपाली सेनाबाट अवकास प्राप्त खड्काले रोजगारीको खोजीमा विदेश पलायन हुने युवाहरुलाई स्वदेशमा टिकाउन र स्थानिय दलित, विपन्न तथा गरिव परिवारलाई आत्मनिर्भर बनाउन बाख्रापालन सुरु गरिएको कृषक खड्काले बताउनुभयो ।

गरिब र विपन्न परिवारले बाख्रापाल्न चाहेमा निशुल्क रुपमा पनि बाख्राका पाठीहरु उपलब्ध गराउने उहाँले बताउनुभयो । पैसा कमाउनका लागि भन्दा पनि गाउँका युवाहरुलाई कृषि खेती तर्फ आकर्षीत गरी गाउँमै व्यवसायिक बनाउन आफूले व्यवसाय सुरु गरेको उहाँको भनाई छ ।

बाख्रालाई आवश्यक पर्ने जैं घास पाँच रोपनी तथा रायो खन्नीयु दश रोपनी क्षेत्रफल बारीमा खड्काले लगाउनुभएको छ । ‘लाखौँको संख्यामा विदेशीने युवाहरुलाई स्वदेशमा नै केही गर्न सकिन्छ भनि चिनाउन र स्थानिय विपन्न, गरिव तथा दलित परिवालाई आर्थिक रुपमा आत्मनिर्भर बनाउन बाख्रापालन सुरु गरेको हुँ’उहाँले भन्नुभयो । “स्थानिय गरिव, विपन्न तथा दलित परिवारलाई आर्थिक रुपमा शसक्त र आत्मनिर्भर बनाउन बाख्राको पाठी निशुल्क रुपमा लक्ष्यित बर्गलाई बितरण गर्ने योजना बनाएको छु ।” कृषक खड्काले बताउनुभयो ।

केही नेताहरुले राजनीतिलाई कमाउ खाने भाँडो बनाएकोप्रति असन्तुष्टी व्यक्त गर्दै खड्काले भन्नुभयो “राजनीति समाजसेवा गर्ने थलो हो तर पछिल्लो समय विकृति भित्रीएकाले पार्टीले प्रस्ताव गरेको वडा अध्यक्षको उम्मेदवार बहिष्कार गरेको हुँ ।” भविष्यमा बाख्रापालन व्यवसायलाई अझै विस्तार गर्ने योजना बनाएको छु, उहाँले भन्नुभयो ।