युवाहरुको सामुहिक लगानीमा बेनीमा खुल्यो व्यवस्थित मिट सप

विकल्प न्यूज/बेनी
माघ १ गते । 

बेनीका युवाहरुले सामुहिक लगानीमा बेनीबजारमा व्यवस्थित मासु पसल खोलेका छन् । बेनी नगरपालिका ८ गणेश टोलमा युवाहरुले  सटर भाँडामा लिएर मंगलवार देखि म्याग्दी कोरला मिट सप सञ्चालनमा ल्याएका हुन । अनेरास्ववियुका केन्द्रिय सदस्य प्रकाश पौडेललको नेत्वमा चन्द्रमान छन्त्याल,सुवास विश्वकर्मा, विजय घर्ती लगायतका ७ जना युवाहरुले सामुहिक लगानीमा व्यवस्थित मिट सप खोलेका छन् । उपभोक्ताहरुलाई सफा र स्वच्छ मासु उपलब्ध गराउने उद्देश्य सहित मिट सप सञ्चालनमा ल्याइएको प्रबन्धक सुवास विश्वकर्माले बताउनुभयो । केही महिना अघि म्याग्दी कोरला पोल्ट्री सप्लायर्स खोलेका युवाहरुले यतिखेर मिट सप खोलेका हुन । अहिले सम्म करिब ३० लाख रुपियाँ भन्दा बढी लगानी गरेका युवाहरुले बेनीका अन्य तिन स्थानमा पनि निकट भविष्यमै व्यवस्थित मिट सप खोल्ने तयारी भएको युवा प्रकाश पौडेलले बताउनुभयो ।  उपभोक्ताहरुले बेनीबजारमा व्यवस्थित र सफा खालको मिट सपको आवश्यकता महशुस गरेका थिए, पौडेलले भन्नुभयो “ग्राहकलाई सफा र स्वाच्छ कुखुरा र खसीको मासु उपलब्ध गराउने हाम्रो प्रयास हुनेछ ।” युवाहरु विद्यार्थीहरुलाई व्यवसायिक बनाएर विदेश पलायनलाई रोक्न पनि आफूहरुले सामुहिक व्यवसाय सुरु गरेको पौडेलले बताउनुभयो । युवाहरुले सिर्जनशिल भएर व्यवसाय गर्ने हो भने सफल हुनसकिन्छ पौडेलले भन्नुभयो ।