अन्तराष्ट्रिय प्रतियोगितामा स्वर्णपदक बिजेता खेलाडी सम्मानीत

सन्तोष गौतम/विकल्प न्यूज
पुस २९ गते । भारतको दक्षिण बंगालमा हालै भएको अन्तराष्ट्रिय क्यु क्याकोसिन फुल कन्ट्याक्ट कराते प्रतियोगितामा नेपालको तर्फबाट सहभागि भएर स्वर्ण पदक जितेका निर्मलबहादुर कटुवाललाई आइतबार बेनीमा सम्मान गरिएको छ ।

जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसी, प्रजिअ लीलाधर अधिकारी, प्रहरी नायव उपरिक्षक बिरबहादुर बुढा, खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्मा लगायतले कटुवाललाई सम्मानपत्र प्रदान गर्नुभएको थियो ।

म्याग्दीको रघुगंगा गाउँपालिका २ भगवतीका कटुवालले डिसेम्बर २२ मा भएको प्रतियोगितामा खुल्ला तौल समूहमा नेपालको तर्फबाट सहभागि भएर स्वर्णपदक जित्नुभएको थियो । सम्मान कार्यक्रममा जिसस प्रमुख केसी र प्रजिअ अधिकारीले खेलाडीलाई प्रोत्साहन र खेल पूर्वाधारमा प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्माको अध्यक्षता र प्रशिक्षक बिरेन्द्र श्रेष्ठको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।